स्वास्थ्य मापदण्ड पालना गरेर दसैं मनाउन अनुरोध
सुशील कोइराला मेमोरियल फाउन्डेसनले कोरोना जोखिम केही कम भए पनि महामारी पूर्ण रूपमा अन्त्य नभएकाले सचेतताका साथ बडादसैं मनाउन आह्वान गरेको छ ।
काठमाडौं, असोज २६ : सुशील कोइराला मेमोरियल फाउन्डेसनले कोरोना जोखिम केही कम भए पनि महामारी पूर्ण रूपमा अन्त्य नभएकाले सचेतताका साथ बडादसैं मनाउन आह्वान गरेको छ ।
फाउन्डेसनका अध्यक्ष तथा कांग्रेस महामन्त्री डा शशांक कोइराला र सदस्य–सचिव अतुल कोइरालाले मंगलबार विज्ञप्तिमार्फत स्वास्थ्य सुरक्षाका विधि अपनाएर दसैं मनाउन अनुरोध गरेका हुन् ।
नेपालीको महान् चाड दसैं, शुभदीपावली, नेपाल संवत् एवं छठजस्ता सांस्कृतिक पर्वले सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने भएकाले पर्व मनाउँदा स्वास्थ्य सुरक्षालाई पनि ध्यान दिन विज्ञप्तिमा आह्वान गरिएको छ ।
यसअघि कोरोनाको दोस्रो लहरसम्म आइसकेकाले सचेत भएर चाडपर्व मनाउन र अहिलेसम्म बालबालिकाका लागि नेपालमा खोप उपलब्ध नभएकाले बालबालिकालाई जोखिम कम हुने गरी पर्व मनाउन सबै अभिभावकले ध्यान दिनुपर्ने फाउन्डेसनको आह्वान छ । पछिल्लो समय सार्वजनिक यातायात, मठमन्दिरमा भीड बढेको र त्यसमा बालबालिकासमेत धेरै देखिएकाले सचेतता अपनाउनुपर्नेमा जोड दिइएको छ ।











