‘नाम’ शान्त र समृद्ध विश्व निर्माणमा लाग्नुपर्छ : परराष्ट्रमन्त्री डा. खड्का
परराष्ट्रमन्त्री डा. नारायण खड्काले असंलग्न राष्ट्रहरूको सम्मेलन (नाम) को मूल्य, मान्यता र सिद्धान्तलाई नेपालले आफ्नो संविधान तथा परराष्ट्र नीतिमा समेत उल्लेख गरी परिपालन गरेको बताएका छन् ।
काठमाडौं, असोज २५ : परराष्ट्रमन्त्री डा. नारायण खड्काले असंलग्न राष्ट्रहरूको सम्मेलन (नाम) को मूल्य, मान्यता र सिद्धान्तलाई नेपालले आफ्नो संविधान तथा परराष्ट्र नीतिमा समेत उल्लेख गरी परिपालन गरेको बताएका छन् ।
नामको ६०औँ वार्षिकोत्सवका अवसरमा बेलग्रेडमा आयोजित बैठकलाई गएराति सम्बोधन गर्दै उनले नामको सिद्धान्त नेपालको परराष्ट्र नीतिको एक भाग रहेको बताए ।
मन्त्री डा. खड्काले नामको ६० वर्षको इतिहासको स्मरण गर्दै भने, ‘हामीले नाम सम्मेलनलाई स्थापना गरेर अघि बढ्ने क्रममा र अहिले विश्वमा धेरै परिवर्तन भएको छ, ६० वर्षअघिको तुलनामा अहिलेको विश्व आधारभूत रूपमै धेरै जटिल बन्दै गएको छ ।’
नाम अभियानले विश्वमा स्वतन्त्रता, प्रजातन्त्र र न्यायको प्राप्तिमा उपलब्धि हासिल गरेको प्रसंग उल्लेख गर्दै मन्त्री डा. खड्काले तर पनि विश्वमा जातीय द्वन्द्व, देशभित्रै आन्तरिक द्वन्द्व, हिंसात्मक अतिवाद, आतंकवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, अर्थतन्त्रको जोखिमपूर्ण अवस्था, विश्वका देशहरू र नागरिकका बीचमा धनी र गरिबबीचको अन्तर र विश्वका धेरै देशमा खाद्य संकटजस्ता समस्या देखिएको बताए ।
यी चुनौतीका साथै भूराजनीतिक समस्याहरू पनि दिनप्रतिदिन बढ्दै गएको, आणविक अस्त्रहरूको आधुनिकीकरण र यसका कारण अस्त्रयुद्धको अवस्था देखिएको भन्दै शक्ति राष्ट्रहरूबीचको राजनीतिक द्वन्द्व पनि समस्याका रूपमा देखिएको उनले बताए ।
पछिल्लो समयमा कोभिड–१९ को महामारी पनि विश्वमा मानव समुदायकै लागि एक प्रमुख चुनौतीका रूपमा देखिएको उनले बताए । यसले पनि विश्वमा खोपको पहुँच पुगेका र नपुगेका देशहरूका रूपमा संसारका देशलाई दुई भागमा विभाजन गरिदिएको उनको भनाइ थियो ।
यस्तै, जलवायु परिवर्तन पनि मानव जातिकै एक प्रमुख चुनौतीका रूपमा देखिएको र यसले मानव जातिलाई असर पार्न थालिसकेको मन्त्री खड्काले उल्लेख गरे ।











