Kathmandu Press

दसैं मनाउन नौ लाखले छाडे काठमाडौं

यो महिनामा झण्डै नौ लाख नागरिकले काठमाडौंं उपत्यका छाडेका छन् । दसैं, तिहार, छठलगायतका पर्वमा घर जानेको संख्या दैनिक बढिरहेको छ।
दसैं मनाउन नौ लाखले छाडे काठमाडौं

काठमाडौंं, असोज २६ : यो महिनामा झण्डै नौ लाख नागरिकले काठमाडौंं उपत्यका छाडेका छन् । दसैं, तिहार, छठलगायतका पर्वमा घर जानेको संख्या दैनिक बढिरहेको छ ।

१ असोजदेखि हालसम्म उपत्यका छाड्नेको संख्या नौ लाख पुगेको र अझै बढ्ने देखिएको यातायात व्यवसायीले बताएका छन् । यो वर्ष गत वर्षभन्दा दोब्बर यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

उनका अनुसार दसैंको अघिल्लो दिनसम्ममा झण्डै १२ लाख उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । उनले भने, ‘दुईतीन दिनमा उपत्यका छाड्नेको संख्या अझै बढ्नेछ ।’

दुई वर्ष पहिलेसम्म २५ लाखभन्दा बढीले दसैंको समयमा उपत्यका छाड्ने गरेका थिए । गत वर्ष कोभिड संक्रमणको जोखिम रहेकाले त्यो संख्या ह्वात्तै घटेको थियो । झण्डै चार–पाँच लाखले मात्रै गत वर्ष उपत्यका छाडेको अनुमान गरिएको थियो । यो वर्ष गत वर्षभन्दा बढी यात्रु भए पनि सामान्य अवस्थाभन्दा धेरै कम छन् । सिटौलाले भने, ‘अघिल्लो वर्ष अग्रिम टिकट नै खुलाइएको थिएन, अहिले खुलाइएको छ ।’

सरकारले घटस्थापना (असोज २१) देखि नै सवारीसाधन जुनसुकै रुटमा गुड्न पाउने गरी खुला गरिसकेको छ । यातायात व्यवसायीले सोही दिनदेखि अग्रिम टिकट खुलाएको थियो । यात्रुलाई समस्या नहोस् भनी ठाउँ–ठाउँमा विभिन्न स्थानमा सहायता कक्ष छन् ।

घटस्थापनाको केही दिनसम्म पनि कार्यालय सञ्चालन हुने भएकाले सार्वजनिक बिदादेखि नै उपत्यका छाड्नेको संख्या बढ्ने गर्छ । यतिबेला यात्रु एकोहोरो जाने मात्रै धेरै रहेको महासचिव सिटौलाले बताए ।

विजया दशमीको दिनदेखि भने काठमाडौंं उपत्यका फर्कनेको संख्या धेरै हुनेछ । उनले भने, ‘अहिले भरिएर गएका बस रित्तै आइरहेका छन् भने टीकाको भोलिपल्टदेखि यहाँबाट रित्तै गएर भरिएर आउँछन् ।’

दसैंको समयमा सडकमा सवारीसाधनको चाप ह्वात्तै बढ्ने भए पनि यो वर्ष देशभरका धेरै सडक बिग्रिएका थिए । केही दिन पहिलेसम्म पनि वर्षा नरोकिएकाले मर्मत सुरु गर्न नसकिएको सडक विभागले जनाएको थियो । एक सातायता भने तीव्र रूपमा मर्मत भइरहेको छ ।

दसैंको टीकाको दिनदेखि पूर्णिमासम्म नै फर्किनेको चाप भएकाले सडक तयारी अवस्थामा हुनुपर्ने सिटौलाले बताए । रासस

प्रकाशित मिति: १४:४६ बजे, मंगलबार, असोज २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्