हराउँदै पिङ संस्कृति
हिन्दू मात्रको महान पर्व दसैं–तिहारका बेलामा पिङ हाल्ने परम्परा केही वर्ष अघिदेखि हराउँदै गएको छ।
लमजुङ, असोज २६ : हिन्दू मात्रको महान पर्व दसैं–तिहारका बेलामा पिङ हाल्ने परम्परा केही वर्ष अघिदेखि हराउँदै गएको छ । गाउँदेखि ठूला सहर-बजारमा दसैं आउन केही समय अघिदेखि पिङमा रमाउने यो मौलिक परम्परा अहिलेका युवापुस्ताको बेवास्ताका कारण हराउन थालेको हो ।
विगतमा जिल्लाका विभिन्न गाउँ, टोल, सहर–बजारमा दर्जनांै रोटे, जाँते र लिंगे पिङमा बालबच्चादेखि युवायुवतीको भीड हुने गर्थ्यो। विस्तारै समाजमा विदेशी संस्कृतिको प्रभावका साथै आधुनिक सूचना प्रविधिको विकासले गर्दा मोबाइल, ल्यापटप र टेलिभिजनमै युवायुवती र बालबच्चासमेत रम्न थालेकाले पिङलगायत परम्परागत कला र संस्कृतिमा ह्रास हुन थालेको बेँसीशहर नगरपालिका–८ की चिजकुमारी श्रेष्ठले बताइन् ।
उनले भनिन्, ‘विगतमा दसैं–तिहारमा पिङको ठूलो महत्त्व हुन्थ्यो । वर्षमा एकचोटी धर्ती छोडे गति परिन्छ भनिन्थ्यो । त्यसैले उमेर नाघेकाहरू पनि एकै पटक भए पनि पिङमा मच्चिने गर्थे तर अहिले आधुनिक जीवनशैलीप्रति युवापुस्ता आकर्षित भएका कारण यो परम्परा लोप हुँदै जान थालेको हो ।’
उनका अनुसार पहिले टोल–टोलमा युवा तथा बालबच्चा पिङमा झुम्मिएको देखिन्थ्यो तर अहिले कतै–कतै मात्र पिङ खेलेको देखिन्छ ।
मस्र्याङ्दी गाउँपालिकाका अमरजङ गुरुङले भने, ‘दसैंका बेला यहाँका बालबच्चादेखि वयस्क पनि केही वर्ष अघिसम्म लिंगेपिङ, रोटेपिङ दुवै टोल–टोलमा हालेर खेल्थे । त्यसका साथै धेरैका घर–घरमा समेत डोरी बाटेर पिङ हाल्ने गरिन्थ्यो तर अहिले घर–घरमा त के गाउँमै पनि पिङ देख्न मुस्किल भएको छ ।
दोर्दी गाउँपालिका–३ का बुद्धिमान श्रेष्ठका अनुसार १०–१२ वर्ष अघिसम्म गाउँका टोल–टोलमै रोटेपिङ बनाएर खेल्ने गरे पनि अहिले त मुख देख्न पनि नपाइने अवस्था आएको छ । ‘वर्षमा एकचोटी धर्ती छोड्नुपर्ने मान्यता भए पनि युवा पुस्ताको बेवास्ताले यस्ता संस्कृति हराउने नै हुन् कि भन्ने चिन्ता लागेको छ,’ उनले भने ।
विकासको क्रमसँगै विभिन्न मेला र महोत्सवमा राखिने आधुनिक प्रविधिका पिङ खेल्न पाइने भएकाले पनि पिङप्रति चासो हराउन थालेकाले संरक्षण गर्न कठिन हुने भएको श्रेष्ठले बताए ।
सानोमा दसँैं नजिकिँदै गर्दा उनका दाइ पिङ हाल्न थाल्थे । उनी पनि त्यसैमा रमाउँथे । रमाइलो मानेर पालैपालो सबैजना मिलेर पिङ खेलिन्थ्यो, प्रत्येक वर्षको दसैं–तिहारमा पिङ खेलेर हुर्कंदै आएको क्व्होलासोथर गाउँपालिकाकी प्रिय गुरुङले बताए । उनले भने, ‘गाउँलेले अन्य पिङ हाल्दै आए पनि रोटेपिङ बनाउन धेरै समय लाग्ने, पिङमा आवश्यक सामग्री बनाउने मान्छेको कमी हुने र धेरै खर्च लाग्ने भएकाले गाउँ–गाउँमा यस्ता पिङ लोप हुँदै थालेको छ ।’
बेँसीशहर नगरपालिका–११ चिती रामचोक बेँसीकी सिर्जना श्रेष्ठले भनिन्, ‘यहाँ १० वर्ष अघिसम्म रोटेपिङ खेल्नका लागि युवायुवतीको ठूलो भीड हुने गथ्र्यो । पिङ खेल्नका लागि तँछाडमछाड गर्नुपथ्र्योे, पालो पर्खंदा पर्खंदा घण्टौँ समय लागे पनि यहाँका युवायुवती रोटेपिङ खेल्ने गर्थेे । त्यही पिङका लागि समेत बेला बखत ठूलो झगडा हुन्थ्यो तर अहिले दसैंका बेलामा पिङ राख्ने ठाउँसुनसान भएकाले युवायुवती पनि देख्न छोडेको छ ।’ रासस











