अपराह्न साढे ४ बजे वसन्तपुर दसैंघरमा फूलपाती भित्र्याइँदै
वसन्तपुरस्थित दसैंघरमा अपराह्न साढे चार बजे फूलपाति भित्र्याइने भएको छ ।
काठमाडौं, असोज २६ : वसन्तपुरस्थित दसैंघरमा अपराह्न साढे चार बजे फूलपाति भित्र्याइने भएको छ ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीमा फूलपाति मनाइन्छ । मंगलबार घर–घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइँदै छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दसैँघर र पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।
‘केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् हुन्,’ उनले भने । फूलपाती भित्र्याएपछि नौ देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने गौतमले जानकारी दिए ।
हनुमानढोका दरबारको दसैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैंघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र त्यहाँबाट काठमाडौं जमलसम्म यताबाट गएका ६ जना ब्राह्मणले ल्याउने परम्परा रहिआएको छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जु पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।
राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैंघरमा फूलपाती भित्र्याउने राजा आफैं उपस्थित हुने प्रचलन थियो । त्यसयता भने संस्कृति मन्त्री उपस्थित हुने गरेका छन् ।
यस वर्षको फूलपाती मंगलबार अपराह्न साढे चार बजे भित्र्याउने कार्यक्रम तय भएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री, काठमाडौँका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ । रासस











