गृह मन्त्रालयले भन्यो-‘जग्गा अतिक्रमणको प्रयास गर्नेलाई कानुनी कारबाही हुन्छ’
मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङले सोमबार एक बिज्ञप्ति जारी गर्दै मन्त्रालय कसैको बहकाउमा परी यस प्रकारको गैरकानुनी कार्यमा संलग्न नहुन सबैमा अनुरोध गरेको समेत छ ।
काठमाडौं, असोज २५ : गृह मन्त्रालयले निर्धारित कानुनी विधि र प्रक्रिया भन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुने प्रष्टाएको छ ।
मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङले सोमबार एक बिज्ञप्ति जारी गर्दै मन्त्रालय कसैको बहकाउमा परी यस प्रकारको गैरकानुनी कार्यमा संलग्न नहुन सबैमा अनुरोध गरेको समेत छ ।
यस्तै मन्त्रालयले हिजो (आईतबार) रुपन्देहीको मौतीपूर औद्योगिक क्षेत्रमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । विज्ञप्तिमा भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगले काम गरिरहेको र कसैको नाम छुटेको भए स्थानीय तहमार्फत दर्ता गराउन सकिने पनि मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।
‘नेपालको संविधानको मौलिक हकमा रहेको आवासको हक, भूमिहीन दलितको हक र राज्यको नीतिमा उल्लिखित भूमिहीन सुकुम्बासीको पहिचान गरी बसोबास र जीविकोपार्जनका लागि कृषियोग्य जमिनको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट गरिएको छ’, बिज्ञप्तिमा उल्लेख छ । 











