नेपाल र भारतबीच कहिलेकाहीँ समस्या आउनु स्वभाविक हो : डा महत
काठमाडौं, असोज २५ : भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल र भारतकाबीच सदियौँ पुरानो र नजिकको सम्बन्ध रहेकाले समय...
काठमाडौं, असोज २५ : भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल र भारतकाबीच सदियौँ पुरानो र नजिकको सम्बन्ध रहेकाले समय समयमा दुई देशबीचको सम्बन्धमा समस्या देखापर्नु स्वभाविकै भएको बताएका छन्।
भारत भ्रमणका क्रममा आइतबार वनारसस्थित वनारस हिन्दू विश्वविद्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'नेपाल भारतबीच धार्मिक, आर्थिक, सांस्कृतिकलगायतका धेरै क्षेत्रमा सयौँ वर्षदेखिको सम्बन्ध हो, धेरै नजिक भएका नाताले पनि कहिलेकाहीँ कुनै विषयमा असमझदारी देखिनु पनि स्वभाविक हो।'
विश्वविद्यालयको नेपाल अध्ययन केन्द्र र दिनदयाल अध्ययन केन्द्रद्वारा आयोजित अन्तक्रियामा उनले भने, 'धेरै नजिक भएपछि सम्बन्धमा कुनै बेला असमझदारी पनि बढ्छ, कुनै विषयमा विवाद पनि आउन सक्छ, त्यसैले यी सबै विषयलाई दुवै तर्फबाट वार्ताको टेबलमा बसेर निकास निकाल्नुपर्छ, समस्या देखियो भने वार्ताबाटै समाधान पहिल्याउनुपर्छ।'
उनले दुई देशबीचको सम्बन्धलाई विश्वासका आधारमा बलियो बनाउनुपर्ने बताए। पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका डा. महतले यसभन्दा अघिल्लो केपी ओली सरकारको अस्थिर र अपरिपक्व परराष्ट्र नीतिका कारण दुई देशका बीचमा असमझदारी बढेको धारणा राखे।
वर्तमान सरकारले विश्वासमा आधाारित रहेर आफ्ना छिमेकी एवं विश्व समुदायसँग सन्तुलित र परिपक्व परराष्ट्र नीति अख्तियार गर्ने उनको भनाइ थियो। भारत भ्रमणमा रहेको डा. महतसहितको कांग्रेसको प्रतिनिधिमण्डललाई उक्त विश्वविद्यालयका चान्सलर भिके शुक्लाले स्वागत गरेका थिए। (रासस)











