वाग्मती प्रदेशसभाको नवौं अधिवेशन सुरु
आजकै बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरेकी छन्। मुख्यमन्त्री शाक्यका राजनीतिक सल्लाहकार माधव अर्यालले शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव संसद्मा दर्ता गराएका थिए।
काठमाडौं, असोज २४ : वाग्मती प्रदेशसभाको नवौं अधिवेशन मकवानपुरको हेटौंडास्थित प्रदेशसभा भवनमा सुरु भएको छ।
वाग्मती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज (आइतबार) दिउँसो ३ बजेका लागि प्रदेशसभाको नवौं अधिवेशन डाकेका थिए। तर निर्धारित समयभन्दा केही ढिला गरी बैठक सुरू भएको हो।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए।
आजकै बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरेकी छन्। मुख्यमन्त्री शाक्यका राजनीतिक सल्लाहकार माधव अर्यालले शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव संसद्मा दर्ता गराएका थिए।
एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) लाई वाग्मतीका १३ सांसदले रोजेपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको हो। उनले आफूमाथि संसदको विश्वास रहेको पुष्टि गर्न आज प्रदेश सभामा विश्वासको मत लिन लागेकी हुन्। उनी भदौ २ गते एमालेको एकल बहुमतबाट मुख्यमन्त्री बनेकी थिइन्।
वागमती प्रदेशसभामा एमाले एक्लैसँग ४३ सांसद छन्। विपक्षी गठबन्धनमा माओवादी केन्द्र २३, कांग्रेस २२, नेकपा (एकीकृत समाजवादी) १३ र जसपाका एक गरी ५९ सांसद छन्।
यस्तै, विवेकशील साझाका तीन, नेमकिपाका दुई र राप्रपाका दुई सांसद छन्। सभामुखसहित १ सय ९ सदस्यीय प्रदेश सभामा बहुमत हासिल गर्न ५५ सांसद भए पुग्छ।
विवेकशील साझा, नेमकिपा र राप्रपाका सात जना सांसदले मुख्यमन्त्री शाक्यलाई मत दिँदा पनि ५० सांसद मात्र हुन्छन्। त्यसैले विपक्षी गठबन्धन स्पष्ट बहुमतमा छ।











