राधा भइन् दोस्रो एनटिएस कौसी क्विन–२०७८
काठमाडौं, असोज २४ : दोस्रो ‘एनटीएस कौसी क्विन–२०७८’ को उपाधि ललितपुरकी राधा ढकालले जितेकी छन्। प्रज्ञान क्रिएसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले आयोजना गरेको ‘एनटीएस...
काठमाडौं, असोज २४ : दोस्रो ‘एनटीएस कौसी क्विन–२०७८’ को उपाधि ललितपुरकी राधा ढकालले जितेकी छन्। प्रज्ञान क्रिएसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले आयोजना गरेको ‘एनटीएस कौसी क्विन-२०७८’ को ताज ढकालले पहिरिएकी हुन्।
उनलाई गत सालकी कौसी क्विन भगवती श्रेष्ठले ताज पहिराइदिएकी थिइन्। साथमा नेपालस्थित इजरायली राजदूत हनान गोदेर, टाइटल स्पोन्सर एनटिएसका सञ्चालक खोजराज कटुवाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा, राष्ट्रिय किसान आयोगकी सदस्य जीवन्ती पौडेल, पूर्व कृषि सचिव राजेन्द्र भारीलगायतले पनि उनलाई सम्मान गरेका थिए। ताजसँगै उनले ५० हजार रुपैयाँबराबरको कौसीमा ग्रिन हाउस उपाहार पाएकी छन्।
त्यसैगरी ‘फस्ट रनर अप’ भक्तपुरका विनिता राजभण्डारी, सेकेण्ड रनर अप बनेपाकी विजया मानन्धर भएकी छन्। त्यस्तै पोखराकी सरस्वती अधिकारी थर्ड रनरअप तथा तनहुँको व्यास नगरपालिकाकी विमला कार्की ‘फोर्थ रनर अप’ भएकी थिइन्। सोही कार्यक्रममा अप्रतियोगी पुष्प व्यावसायी भक्तपुरकी राधा मतांगीलाई पनि ‘फ्लावर क्विन’को उपाधिले सम्मान गरिएको थियो।
फस्ट रनरअपले २० हजार, सेकेन्ड रनरअपले १५ हजार, थर्ड रनरअपले १० तथा फोर्थ रनरअपले ५ हजार बरावरको कौसी खेतीका सामग्री पाएका छन्।त्यसैगरी सहभागी सबैलाई एकएक हजार बराबरको सान्त्वना पुरस्कार पनि वितरण गरिएको छ।
प्रतियोगितामा देशभरबाट ७५ जनाभन्दा बढीको सहभागिता रहेको थियो। जसमध्ये ललितपुर थास खेलकी राधा ढकाल, बालाजुकी सरस्वती खाण्ड ठकुरी, चन्द्रागरीकी चन्द्रमाया माली, कीर्तिपुर २ मैत्रीनगरकी लीला खनाल हाजुर, भक्तपुर सिरजनानगर आकाश पुलकी विनिता राजभण्डारी, पोखराकी सरस्वती अधिकारी, बनेपाकी विजय मानन्धर, तनहुँ व्यास नगरपालिका-४ संगम टोलकी विमला कार्की, चन्द्रागिरिकी राधिका अर्याल, कीर्तिपुरकी मृदुला श्रेष्ठ र कुलेश्वरकी कृष्ण मैया अधिकारी उत्कृष्ट १० भित्र परेका थिए।
यस्ता खालका क्रियाकलापले सहरी खेती गर्न सबैलाई आकर्षण गर्ने भएकाले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठले बताए। अझ घरको नक्सा पास गर्ने समयमा कौसीमा अनिवार्य कौसी खेती गर्ने ट्रस्ट बनाउन सके झनै राम्रो हुने बताए।
यसपछि १० वटा विद्यामा फार्मर हाउस कम्पिटिसनको आयोजना गर्ने पनि श्रेष्ठले जानकारी दिए। बाख्रा फार्मर अफ दी इयर, भेजिटेबल फार्मर अफ दी इयर, फ्रुट्स फार्मर अफ दी इयरलगायत १० वटा विधामा प्रतिस्पर्धा गराई कृषकमाझ कृषिलाई सम्मानित गराउने उद्देश्य हलोखबरले लिएको छ।
प्रतियोगिताको निर्णायकहरुमा इजरायली राजदूत खनान गोदेर, काठमाडौँ महानगरपालिकाका कृषि शाखा प्रमुख हरि भण्डारी, मुक्तिनाथ कृषि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सलिलकुमार श्रीवास्तव, गत सालको फूलतर्फकी विजेता डा. नम्रता पाण्डे र कृषि ज्ञान केन्द्र, ललितपुरका प्रमुख कृष्णभद्र अधिकारी रहेका थिए। कार्यक्रमको प्रमुख प्रयोजक नेपाल थोपा सिचाइ रहेको थियो।
त्यसैगरी यस इभेन्टमा नेपालस्थित इजरायली राजदूतावास, काठमाडौं महानगर, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय वाग्मती प्रदेशको समेत सहकार्य रहेको थियो। त्यस्तै किसान एग्रीकल्चर प्रालि, एग्रिकेयर नेपाल प्रालि, अन्नपूर्ण अर्गानिक फटिलाइजर, जी सेभेन एग्रिकल्चर प्राली, एग्री नेपाल, सलोम एग्रिकल्चर प्रालि, अर्गानिक बायो फटिलाइजर लि, मुक्तिनाथ कृषि कम्पनी लि, काठमाडौं नर्सरी, सर्वोदय नेपाल, एग्रीभिजन हाई टेक प्रालि, कारितास नेपाल, कारितास अष्ट्रेलियाको पनि सहकार्य गरेको थियो।
प्रथम वाग्मती प्रदेशस्तरीय कौसी क्विनको सफलता पश्चात् दोस्रो कौसी क्विन २०७८ प्रतियोगिता भने राष्ट्रव्यापी भएको हो। जसमा प्रतियोगितामा सहभागी हुन सहभागीहरूले कौसीमा रोपिएका तरकारी तथा फूलबारीमा काम गर्दै १० वटा फोटो र बढीमा १० मिनेटको भिडियो हलोखबरको इमेलमा पठाउनुपर्ने थियो।
त्यसपछि कौसी खेतीमा भाग लिनेहरुको फोटो हलोखबर डटकमको फेसबुक पेज र युट्युब च्यानलमा पोस्ट गरिएको थियो। जसमा ६० प्रतिशत लाइक, सेयर, कमेन्टको आधारमा र ४० प्रतिशत निर्णायक मण्डलले नम्बर प्रदान गरेका थिए ।
कार्यक्रममा तीनजनालाई सम्मान
कार्यक्रममा तीन जनालाई सम्मान पनि गरिएको थियो। जसमा नेपालको व्यावसायिक गोलभेँडा खेतीमा नयाँ सिर्जनालगायतका जात विकास गरी कृषि क्षेत्रमा पुर्याएको योगदानका लागि डा. केदार बुढाथोकीलाई अतिथिहरूबाट सम्मानपत्र प्रदान गरिएको थियो।
त्यसै गरी हलोखबर डटकमका प्रथम विज्ञापन दाता श्रीकृष्ण अधिकारीलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो। यस्तै हलो खबर डटकमका उत्कृष्ट रिपोटर्सको रूपमा रेखा श्रेष्ठलाई कदर पत्र प्रदान गरिएको थियो।











