बागमतीकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै
हेटौडा, असोज २४ : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिन लागेकी छन्।नेकपा (एमाले) विभाजन भएर १३ सांसद नेकपा (एकीकृत समाजवादी)...
हेटौडा, असोज २४ : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिन लागेकी छन्।
नेकपा (एमाले) विभाजन भएर १३ सांसद नेकपा (एकीकृत समाजवादी) मा लागेपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ। उनले आफूमाथि संसद्को विश्वास रहेको पुष्टि गर्न आज प्रदेश सभामा विश्वासको मत लिन लागेकी हुन्।
आज अपराह्न ३ बजे प्रदेश सभाको नवौ अधिवेशन आह्वान गरिएको छ। आजकै बैठकमा उनले विश्वासको मत लिने तयारी गरेको जनाइएको छ। मुख्यमन्त्री शाक्यका राजनीतिक सल्लाहकार माधव अर्यालले शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव संसदमा दर्ता गराएका थिए।
भदौ २ गते एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्यले आज विश्वासको मत पाउने सम्भावना रहेको छैन। उनको पक्षमा एमाले ४३ सांसद मात्रै छन्। अहिले १०९ जना प्रदेश सभा सदस्य रहेको प्रदेशमा सरकार जोगाउन ५५ सांसद आवश्यक पर्छ।
विपक्षी गठबन्धनसँग भने बहुमत देखिएको छ। प्रदेश सभामा कांग्रेसका २३, नेकपा (माओवादी केन्द्र) का २२ र नेकपा (एकीकृत समाजवादी) का १३ जना सांसद छन्।











