कांग्रेसका पुराना नेता भएकाले हमाललाई सम्मान गरेर मन्त्री बनाइएको हो : मन्त्री रेग्मी
काठमाडौं, असोज २३ : नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल कांग्रेसकै पुराना नेता भएकाले प्रधानमन्त्री...
काठमाडौं, असोज २३ : नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल कांग्रेसकै पुराना नेता भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाएको स्पष्ट पारेकी छन्।
मन्त्री भएको भोलिपल्ट आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा शुभकामना एवं साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले यस्तो बताएकी हुन्। उनले भनिन्, ‘उहाँ हाम्रो पार्टीको पुरानो नेता हो। उहाँ भिक्टिमाइज हुनुहुन्थ्यो। उहाँ हाम्रो पार्टीको मान्छे हो। अब हेर्नुहोस्, कसैको नाता पर्यो होला। तर, उहाँ भिक्टिमाईज भएर सम्मान गरेको हो। गैरसांसद व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ। गजेन्द्र हमाल मन्त्री बन्दा प्रधानन्यायाधीशको सवाल छैन। सर्वदलीय सहमतिबाट भएको कुरा हो। उहाँलाई मन्त्रीमा ल्याउनुपर्दथ्यो। पार्टीमा त्यत्रो योगदान गरेका मान्छेले अवसर पाउनुपर्छ।’
मन्त्री रेग्मीले नेपालमा निकट भविष्यमै महिला प्रधानमन्त्री बन्न सक्ने र त्यो समय आइरहेको बताइन्। उनले भनिन्, ‘प्रधानमन्त्री बन्न महिला योग्य छन्। एक तिहाइ महिलाहरूको हरेक ठाउँमा प्रतिनिधित्व भयो भने महिला प्रधानमन्त्री हुन सक्छन्।’ महिला कार्यकारी प्रमुख भए भ्रष्टाचार कम हुने उनले बताइन्। महिलाहरू पनि प्रधानमन्त्री बन्ने रेसमा दौडिनुपर्नेमा उनले जोड दिइन्। उनले पार्टीको आगामी १४औं महाधिवेशनबाट महिलाको प्रतिनिधित्व झनै बलियो र सशक्त हुने पनि विश्वास दिलाइन्। उनले भनिन्, ‘हरेक तहमा समान प्रतिनिधित्व हुनुपर्छ। वडादेखि केन्द्रसम्म महिला पनि पदाधिकारी हुनुपर्ने व्यवस्था गर्नुपर्छ।’ आफूले रोजेर नै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको जिम्मेवारी लिएको पनि उनको भनाइ छ।
‘हुन त यो मन्त्रालयमा कतिले रिसोर्स धेरै छैन। बजेट धेरै छैन भन्ने धारणा राख्छन्। तर म भने यो मन्त्रालयमा आएर महिला, बालबालिका, ज्येष्ठ नागरिकको लागि केही गरौं भनेर आफंैले रोजेर आएकी हुँ। म खुसी छु। आमूल परिवर्तन गर्न नसके पनि केही न केही गरौं भनेर आएकी छु। महिलाहरू प्रताडित छन्। सरकार र हरेक ठाउँमा महिलाको प्रतिनिधित्व समावेशी–समानुपातिक हुन सकेको छैन,’ उनले भनिन्, ‘राज्यको हरेक ठाउँमा महिला–पुरुष एक रथका दुई पाङग्रा हुन, त्यहीअनुसारको प्रतिनिधित्व हुनुपर्छ। हामी समतामूलक समाज नै निर्माण गर्न चाहन्छौं। अहिले महिला हामी एक तिहाईंमा टिकेका छौं। यो मन्त्रिपरिषद्मा पनि एक तिहाइ पुगेन।’
देशको माउ नीति भनेको राजनीति भएकाले राजनीतिमा महिला सकेसम्म धेरै आउनुपर्ने उनको भनाइ थियो। मुलुकमा बढ्दो महिला हिंसाप्रति आफ्नो गम्भीर ध्यानाकार्षण भएको पनि उनले बताइन्। ‘ज्येष्ठ नागरिकहरू घरमा स–सम्मान बाँच्न नपाएको अवस्था छ। अहिले दर्दनाक अवस्था छ। उनीहरूलाई पनि ससम्मान बाँच्न सक्ने तुल्याउने गरी काम गर्छु,’ उनले भनिन्, ‘अपांगता भएका व्यक्तिहरूको केही अधिकार प्राप्त भएको छ, अझै धेरै हुन बाँकी छ। उहाँहरूको लागि विशेष सुरक्षा गर्छु।’
मन्त्री रेग्मीले बच्चाहरूलाई पनि खोप दिन जरुरी रहेको भन्दै यस विषयमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर खोपको व्यवस्था गर्न आफूले पहल गर्ने पनि विश्वास दिलाइन्।











