Kathmandu Press

मन्त्रिपरिषदमा समेट्न नसकेका योग्य साथीलाई उचित जिम्मेवारी दिइनेछ : प्रधानमन्त्री देउवा

मन्त्रिपरिषदमा समेट्न नसकेका योग्य साथीलाई उचित जिम्मेवारी दिइनेछ : प्रधानमन्त्री देउवा

काठमाडौं, असोज २३ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा समेट्न नसकेका योग्य र क्षमतावान् पार्टीका साथीलाई उचित जिम्मेवारी दिने आश्वासन दिएका छन्।

स्कूल अफ डेमोक्रेसी, अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वरप्रसाद कोइरालाः शताब्दी सन्दर्भ’ पुस्तकको आज विमोचन गर्दै उनले शुक्रबारको मन्त्रिपरिषद् विस्तारमा योग्य साथी छुटेकामा आफूलाई दुःख लागेकोसमेत बताए। क्षमतावान् र योग्य साथीलाई आगामी दिनमा उचित जिम्मेवारी दिँदै जाने बताउँदै उनले आफ्नो बाध्यता बुझिदिन आग्रह गरे।

सांसद मीन विश्वकर्माले बीपी कोइराला, प्रजातन्त्र र कांग्रेस एक अर्काका परिपूरक भएको बताउँदै जनतालाई प्रजातन्त्रको अर्थ, महत्व र अभ्यासका बारेमा बुझाउनुपर्ने आजको आवश्यकता भएको बताए।

राष्ट्रियसभाअन्तर्गत दिगो विकास समितिका सभापति तारादेवी भट्टले संयुक्त राष्ट्र सङ्घले हाल अघि बढाएको दिगो विकासको लक्ष्य बीपी कोइरालाले आफ्नो समयमा परिकल्पना गरेको सिद्धान्त र विचारसँग मिल्दोजुल्दो भएको बताए।

कार्यक्रममा पूर्वराजदूत दिनेश भट्टराई, संविधानविद् डा विपिन अधिकारी, स्कूल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष र एवं नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नैनसिंह महरलगायतले बीपीका सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै बीपीका बारेमा थप अध्ययन र अनुसन्धानको खाँचो औँल्याए। रासस
 

प्रकाशित मिति: १२:५२ बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्