Kathmandu Press

अन्तर्राष्ट्रिय बालिका दिवस : घरबाटै विभेद अन्त्य गर्नुपर्ने

काठमाडौं, असोज २३ : बालिकाविरुद्धको हिंसा र विभेद अन्त्यका लागि घर परिवारदेखि नै जागरण ल्याउनुपर्नेमा जोड दिइएको छ।अन्तर्राष्ट्रिय बालिका दिवस, २०२१ का सन्दर्भमा शुक्रबार...
अन्तर्राष्ट्रिय बालिका दिवस : घरबाटै विभेद अन्त्य गर्नुपर्ने

काठमाडौं, असोज २३ : बालिकाविरुद्धको हिंसा र विभेद अन्त्यका लागि घर परिवारदेखि नै जागरण ल्याउनुपर्नेमा जोड दिइएको छ।

अन्तर्राष्ट्रिय बालिका दिवस, २०२१ का सन्दर्भमा शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्को आयोजनामा गरिएको कार्यक्रममा मन्त्रालयका सचिव यमकुमारी खतिवडाले गर्भमा रहँदादेखि नै बालिकामाथि विभेद हुने स्थिति अन्त्य हुनुपर्ने बताइन्। उनले बालिकामाथि हुने हिंसा र विभेद अन्त्यका लागि भएका कानून र नीतिको कार्यान्वयनमा नेपाल सरकार प्रतिबद्ध रहेको कुरा बताइन् ।

मन्त्रालयका सहसचिव उमेश ढुङ्गानाले भएका कानूनको कार्यान्वयनका लागि स्थानीय तहसम्म संरचना हुनुपर्ने भएकाले त्यसका लागि पहल भइरहेको बताए। परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले स्थानीय तहमा बाल हेल्प लाइन र अन्य संयन्त्रबाट त्यहाँ हुने हिंसा र विभेदको उजुरी लिएर न्याय दिलाउन सकिने प्रणाली स्थापनाको पहल भइरहेको जानकारी दिए। राष्ट्रिय सञ्जालका संयोजक तिलोत्तम पौडेलले बालिकाको अधिकार संरक्षण र प्रवद्र्धन तथा विकासका लागि सबै पक्ष लाग्नुपर्ने बताए।

सोही अवसरमा सडक बालबालिकालाई खेलकुदमा अग्रसर गराउन ‘सडकदेखि रङ्गशालासम्म’ कार्यक्रमका  लागि परिषद् र नेपाल रग्बी सङ्घबीच सम्झौता सम्पन्न भयो। सम्झौतामा कार्यकारी निर्देशक धरेल र सङ्घका अध्यक्ष टङ्क घिसिङले हस्ताक्षर गर्नुभयो । यस्तै राष्ट्रिय बाल दिवस (भदौ २९) का अवसरमा मन्त्रालय र परिषद्द्वारा आयोजित ‘सङ्घीय नेपालमा बाल अधिकार’ विषयक भिडियो निर्माण प्रतियोगिताका प्रथम र द्वितीय हुने बालबालिकालाई नगद क्रमशः रु २५ र २० हजारसहित पुरस्कार प्रदान गरियो।

यही अक्टोबार ११ मा ‘डिजिटल पुस्ता, हाम्रो पुस्ता’ भन्ने नाराका साथ यस वर्षको दिवस विश्वभर मनाइँदैछ। १९ डिसेम्बर २०११ मा भएको संयुक्त राष्ट्र सङ्घीय साधारणसभाको विशेष प्रस्तावबाट निर्णय भई सन् २०१२ देखि प्रत्येक वर्ष अक्टोबर ११ मा यो दिवस मनाउन थालिएको हो।

दिवसका अवसरमा संसारभरि बालिका अधिकारलाई प्रवद्र्धन गर्ने, बालिकालाई संरक्षण गर्ने, बालिकामाथि हुने सबै प्रकारका विभेदको अन्त्य, बाल विवाह, गरिबी, अशिक्षा र विभेदबाट बालिकालाई मुक्त गराउने जागरण र अभियान सञ्चालन हुनेछ।

प्रकाशित मिति: ०९:२४ बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्