वैदेशिक रोजगार बोर्डले निःशुल्क तालिम दिने
काठमाडौं, असोज २२ : वैदेशिक रोजगार बोर्डले विभिन्न विषयमा निःशुल्क सीप तालिम प्रदान गरिरहेको छ ।विशेष गरी वैदेशिक रोजगारीबाट फर्केकाहरुसहित सीप सिक्न चाहने...
काठमाडौं, असोज २२ : वैदेशिक रोजगार बोर्डले विभिन्न विषयमा निःशुल्क सीप तालिम प्रदान गरिरहेको छ ।
विशेष गरी वैदेशिक रोजगारीबाट फर्केकाहरुसहित सीप सिक्न चाहने सबैलाई लक्षित गरी तालिम सञ्चालन भइरहेको बोर्डले जनाएको छ । बोर्डले प्लम्बर सहायक, डकर्मी, सटरिङ कार्पेन्टिङ, गार्मेन्ट मेसिन अप्रेटर, इलेक्ट्रिसियन, एसिस्टेन्ट स्काफोल्डर, हाउस पेन्टर, किचन सहयोगी, सुरक्षा गार्ड, वेटर, स्टील फिक्सर, हाउस किपिङ, एसिस्टेन्ट वेल्डर, फ्रन्ट अफिस सहायक, सहायक टायल मार्बल फिक्सचर्स, सहायक आल्मुनियम फेब्रिकेटर, जुनियर फर्निचर मेकर र जुनियर ब्युटिसियनको तालिम प्रदान गरिरहेको छ ।
तालिम अहिले पनि कतिपय ठाउँमा चलिरहेको र माग भएअनुसार माग भइआएको ठाउँमा तालिम सञ्चालन गरिने बोर्डले जनाएको छ । अघिल्लो वर्ष तीन हजार सात सय जनालाई तालिम प्रदान गरेको र पुनः १० हजार जतिलाई लक्षित गरेर तालिम दिने कार्यक्रम रहेको बोर्डले जनाएको छ । तालिम लिन चाहनेले आफ्नो पालिकामा रहेको रोजगार सूचना केन्द्रमा गएर पनि बुझ्न सक्नेछन् ।
तालिम लिनको लागि पालिकाले वा वडाले नै किटानी सिफारिस गरेको हुनुपर्नेछ । तालिम दिइसकेपछि निःशुल्क सीप परीक्षण पनि गराइनेछ । तालिम कम्तीमा पनि एक महिनाको हुनेछ ।











