एकीकृत समाजवादी र एकीकृतबीच एकीकरण हुँदै, चुनाव चिह्न ‘कलम’
काठमाडौं, असोज २२ : नेकपा (एकीकृत समाजवादी) ले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) सँग एकीकरण गरी चुनाव चिह्न बदल्ने भएको छ। पार्टी दर्ता गर्ने बेलामा...
काठमाडौं, असोज २२ : नेकपा (एकीकृत समाजवादी) ले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) सँग एकीकरण गरी चुनाव चिह्न बदल्ने भएको छ। साे पार्टीले चुनाव चिह्न ‘कलम’ राख्ने तयारी गरेकाे छ।
साे पार्टीको बिहीबार बसेको स्थायी कमिटी बैठकले चिह्न चुनाव चिह्न ‘कलम’ राख्ने निर्णय गरेको हाे। साेही प्रयाेजनका लागि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) सँग एकीकरण गर्न लागिएको पनि बताइएको छ।
नेकपा (एकीकृत) जीवन राईको नेतृत्वमा रहेको पार्टी हो। सो पार्टी गत जेठ ३० गते निर्वाचन आयोगमा दर्ता भएको हो। राईलाई एकीकृत समाजवादीको केन्द्रीय सदस्य बनाएर पार्टी एकीकरण गर्ने तयारी अन्तिम चरणमा पुगेको एक नेताले बताए।
उनले सकेसम्म आजै अन्यथा आइतबारसम्म निर्वाचन आयोग गएर पार्टी एकता र चुनाव चिह्न परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार आयोग जानुअघि दुवै पार्टीका तर्फबाट संयुक्त विज्ञप्ति निकालिनेछ।
एमालेबाट विभक्त भएर गत भदौ ९ गते एकीकृत समाजवादीले निर्वाचन आयोगबाट आधिकारिकता पाएको थियो।











