सात वाणिज्य बैंकले घोषणा गरे लाभांश
काठमाडौं, असोज २१ : हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन्। बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव...
काठमाडौं, असोज २१ : हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन्। बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन्।
आज बिहानसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैंक इन्टरनेशनलले लाभांशको प्रस्ताव गरेका हुन्।
बैंकहरुले प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पुगेको छ। राष्ट्र बैंकले केही बैंकको लाभांश स्वीकृत गरिसकेको छ भने केहीको स्वीकृत हुन बाँकी छ।
लाभांश प्रस्ताव गरेका सात वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश हिमालयन बैंकको छ। बैंकले शेयरधनीलाई कूल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सबैभन्दा कम कुमारी बैंकले ८ दशमलव ६७ प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको छ।
बैंकहरुको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीको हातमा लाभांश पर्नेछ । बैंकहरुले लाभांश घोषणा गर्न थालेपनि शेयरधनीले भने दसैँपछाडी मात्र लाभांश पाउने भएका छन्।
विगतका वर्षमा केही वाणिज्य बैंकले दसैँअघि नै वार्षिक साधारणसभा बोलाएर शेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने शेयरधनीले दसैँ अगाडि लाभांश नपाउने भएका हुन्।
कुन बैंकको कति?
गत आर्थिक वर्षको नाफाबाट हिमालयन बैंक लिमिटेडले शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २१ दशमलव ३६ प्रतिशत बोनस शेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कूल २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
यस्तै, सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १७ दशमलव ८९प्रतिशत, नेपाल इन्भेस्टमेन्ट बैंकले १६ प्रतिशत र सिटिजन्स बैंक इन्टरनेसनलले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन्।
गत आवको नाफाबाट माछापुच्छ«े बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यो बैंकले कात्तिक २६ गतेका लागि साधारणसभा पनि बोलाइसकेको छ।
यस्तैगरी कुमारी बैंकले शेयरधनीलाई ८ दशमलव ६७ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३ दशमलव ०६ प्रतिशत लाभांश घोषणा गरेका छन् ।
दसैंमा लाभांश नपाउने
बैंकहरुले लाभांश घोषणा गर्न थालेपनि शेयरधनीले भने दसैँपछाडी मात्र लाभांश पाउने भएका छन्। विगतका वर्षमा केही वाणिज्य बैंकहरुले दसैंअघि नै वार्षिक साधारणसभा बोलाएर शेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने शेयरधनीले दसैंअगाडि लाभांश नपाउने भएका हुन्।
नेपाल बैंकर्स सङ्घका अध्यक्ष भुवन दाहालका अनुसार यस वर्ष बैंकहरुले ढिलो गरेर वित्तीय विवरण सार्वजनिक गरेकोले अन्य प्रक्रियामा समेत ढिलाइ हुँदा लाभांश वितरणमा ढिलाइ भएको हो।
‘यसवर्ष वित्तीय विवरण सार्वजनिकमा ढिलाइ भयो,’ उनले भने, ‘नेपाल राष्ट्र बैंकले भदौसम्मको आम्दानीलाई जोड्न पाउने व्यवस्था पनि गर्यो। यी व्यवस्थाले बैंकहरुले समय पनि पाए, त्यसैले पनि यस वर्ष दसैंआगाडि शेयरधनीलाई लाभांश दिन सकिएन।’ दीपावली आसपासमा शेयरधनीले लाभांश पाउन सक्ने उनको भनाइ छ।
हाल केही बैंकले साधारणसभा पनि बोलाइसकेका छन्। साधारणसभाले लाभांश पारित गरेपछि मात्र बैंकका शेयरधनीले लाभांश पाउनेछन्।
विकास बैंकमा कामना पहिलो
सात वाणिज्य बैंकले लाभांश घोषणा गरे पनि विकास बैंकमा लाभांश घोषणा गर्ने पहिलो बैंकमा कामना सेवा विकास बैंक भएको छ। बैंकले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट १९।४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
यही असोज ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १८ दशमलव ५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ० दशमलव ९७ प्रतिशत नगद लाभांशसमेत गरी १९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित १९ दशमलव ४७ प्रतिशत लाभांश गत चार वर्षयताकै उच्च हो।











