कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
काठमाडौं, असोज २१ : नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक नगर्ने भएको छ।कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव...
काठमाडौं, असोज २१ : नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक नगर्ने भएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (बिहीबार) एक विज्ञप्ति जारी गरेर त्यसबारे जानकारी गराएको हो।
कोरोना खोपका कारण महामारी कम हुँदै गए पनि जोखिम पुरै नहटिसकेकाले यसपालि चियापान कार्यक्रम आयोजना नगरिने जनाइएको छ । ‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले खोपको व्यापक प्रबन्ध गरेपश्चात महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन,’ खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य हो,’ विज्ञप्तिमा भनिएको छ।
महामारीमाथि विजय हासिल गर्न चाँडै नै सफल हुने विश्वासका पनि कांग्रेसले गरेको छ।
कांग्रेसले बडादसैं, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना पनि व्यक्त गरेको छ। ‘महान पर्वहरु हाम्रो घर आँगनमा आइपुगेका छन् । स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदिबहिनी–दाजुभाइमा यो घडी नेपाली कांग्रेस मंगलमय शुभकामना व्यक्त गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।
पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कता अपनाउन कांग्रेसले सबैलाई अपिल गरेको छ।











