बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक, मन्त्रीको नाम टुंग्याइँदै
सत्ता गठबन्धनका दलहरूका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
काठमाडौं, असोज २१ : सत्ता गठबन्धनका दलहरूका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
बैठकमा सबै दलले आ-आफ्नातर्फबाट मन्त्रीहरूको नाम प्रस्ताव गर्दै छन् । नेकपा (एकीकृत समाजवादी) र जसपाले मन्त्रीको नाम फाइनल गरे पनि मन्त्रिपरिषद् विस्तार अघिसम्म गोप्य राखेका छन् ।
माओवादी केन्द्रले भने बुधबार नै आफ्नो पार्टीको तर्फबाट मन्त्री बन्नेहरूको नाम सार्वजनिक गरिसकेको छ ।
एकीकृत समाजवादीले मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बिहीबार बिहान बसेको उक्त पार्टी स्थायी समिति बैठकले नेपाललाई जिम्मा दिएको हो । जसपाले अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार बिहीबार नै नयाँ मन्त्रीहरूको सपथ ग्रहण हुने सम्भावना कम छ । किनकि, त्यसअनुसारको तयारी भइसकेको छैन ।
शुक्रबारसम्ममा मन्त्रिपरिषद् विस्तार गरिसक्ने तयारीमा सत्ता गठबन्धन जुटेको छ ।











