महिलालाई गुणस्तरीय शिक्षा दिनु देश विकासको पूर्वाधार : बेलायती राजनीतिज्ञ हेलेन ग्रान्ट
काठमाडौं, असोज २० : बेलायती राजनीतिज्ञ तथा समाजसेवी हेलेन ग्रान्टले महिलालाई गुणस्तरीय शिक्षा दिनु देश विकासको पूर्वाधार भएको बताएकी छिन् ।आज (मंगलबार) राजधानीको...
काठमाडौं, असोज २० : बेलायती राजनीतिज्ञ तथा समाजसेवी हेलेन ग्रान्टले महिलालाई गुणस्तरीय शिक्षा दिनु देश विकासको पूर्वाधार भएको बताएकी छिन् ।
आज (मंगलबार) राजधानीको गोकर्णेश्वरमा रहेको नामी कलेजमा आयोजित ‘महिला शिक्षा जलवायू परिवर्तन’ मा बोल्दै ग्रान्टले हरेक महिलाले कम्तीमा १२ वर्षको गुणस्तरीय शिक्षा पाउनुपर्नेमा जोड दिएकी छिन् । ‘विश्व अभियानसंग महिला शिक्षालाई जोड्दै आगामी दशकसम्म विश्वभरिका कम्तीमा पनि ४० लाख छोरीहरूलाई विद्यालयसँग जोड्ने लक्ष्य छ ’, उनले भनिन् ।
यस्तै, कार्यक्रममा नामी कलेजको अध्यक्ष डा. आरजु राणा देउवाले शिक्षाका माध्यमले मात्र परिवर्तन र रूपान्तरण सम्भव भएको बताइन् । वास्तविक धरातलमा धेरै कामहरू गर्न अझै बाँकी रहेको भन्दै राणाले नेपाल बेलायत सम्बन्धमा प्रकाश पार्दै बेलायती नेतृत्वलाई नेपालमा जलवायु परिवर्तन लगायत अन्य क्षेत्रमा गरिएको सहयोग र साथका लागि धन्यवाद समेत दिइन् ।

कार्यक्रमा बोल्दै नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिट नेपाल–बेलायत सम्बन्धका साथ साथै नेपाली शिक्षाको स्तरोन्नतिका लागि हरेक पक्षवाट जोड दिनुपर्ने बताइन् ।
नर्थ हेम्पटन विश्वविद्यालय बेलायतसँगको अर्थपूर्ण साझेदारीमा नामी कलेजले विश्वस्तरीय संकाय, पाठ्यक्रम र डिग्रीहरू सञ्चालन गर्दै आएको कारणले नै आज नेपालको एउटा विशिष्ट र सर्वाधिक रुचाइएको अध्ययन गन्तव्यका रूपमा नामी स्थापित हुन सफल भएको विद्यालयको भनाई रहेको छ ।











