Kathmandu Press

दुई वैज्ञानिकलाई रसायन शास्त्रतर्फको नोबेल पुरस्कार

जर्मन मुलका बेन्जामिन लिस्ट र बेलायतका डेभिड म्याकमिलनलाई संयुक्त रूपमा पुरस्कृत गर्ने नोबेल समितिले घोषणा गरेको छ ।
दुई वैज्ञानिकलाई रसायन शास्त्रतर्फको नोबेल पुरस्कार

स्टकहोम, असोज २० : यस वर्ष दुई वैज्ञानिकलाई रसायन शास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ ।

ऐनामा देखिने अणु निर्माणमा काम गरेका जर्मन मुलका बेन्जामिन लिस्ट र बेलायतका डेभिड म्याकमिलनलाई संयुक्त रूपमा पुरस्कृत गर्ने नोबेल समितिले घोषणा गरेको छ ।

उनीहरूले एक करोड क्रोना (करिब १३ करोड ६८ लाख रुपैयाँ) आपसमा बाँड्नुपर्नेछ ।

उनीहरूले पत्ता लगाएको रासायनिक टुलकिट नयाँ औषधिहरूको खोजी तथा त्यस्तै अणु बनाउन उपयोगी हुने विश्वास गरिएको छ । यस्तै, सौर्य अणुहरूको प्रकाश प्राप्त गर्न पनि उपयोगी हुने विश्वास छ ।

आणविक खोजमा उनीहरूको अन्वेषणले नयाँ ढोका खोल्ने नोबेल समितिले जनाएको छ ।

स्विडेनको लुन्ड विश्वविद्यालय समितिका सदस्य प्राध्यापक पिटर सोमफाइले उनीहरूको अन्वेषणलाई ‘गेम चेन्जर’ संज्ञा दिएका छन् । र, त्यो मानव जातिका लागि लाभदायक सिद्ध हुने उनको भनाइ छ ।

सन् १९०१ देखि दिन थालिएको रसायन शास्त्रतर्फको नोबेल पुरस्कार हालसम्म एक सय ८७ जनाले पाइसकेका छन्, जसमा सातजना मात्र महिला छ । यस्तै, बेलायती बायोकेमिस्ट फ्रेडरिक सेंगरले सन् १९५८ र १९८० मा दुईपटक यो पुरस्कार पाएका थिए ।

अमेरिका यस्तो मुलुक हो, जसले हालसम्म सबैभन्दा बढी रसायन शास्त्रतर्फको नोबेल पुरस्कार भित्र्याएको छ । अमेरिकाका ७२ तथा जर्मनी र बेलायतका ३४-३४ जनाले यो पुरस्कार पाएका छन् ।

प्रकाशित मिति: १६:५८ बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्