कांग्रेस पालिका अधिवेशन : देउवा पक्ष सातै प्रदेशमा बहुमतमा
कांग्रेसको विभिन्न क्षेत्रमा भएका पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा (संस्थापन) पक्ष एकलौटी रूपमा अगाडि देखिएको छ। अधिवेशन सम्पन्न भएका पालिका र नगरको परिणामअनुसार देउवा पक्ष एकल नै बहुमतमा देखिएको छ।
काठमाडौं, असोज २० : कांग्रेसको विभिन्न क्षेत्रमा भएका पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा (संस्थापन) पक्ष एकलौटी रूपमा अगाडि देखिएको छ। अधिवेशन सम्पन्न भएका पालिका र नगरको परिणामअनुसार देउवा पक्ष एकल नै बहुमतमा देखिएको छ।
मंगलबार साँझसम्म परिणाम आएका ६ सय ५ वटा पालिकामध्ये दुई सय ५० वटामा देउवा पक्षीय नेताहरू पालिकाको सभापतिमा निर्वाचित भएका छन् । यस्तै, नेता रामचन्द्र पौडेल, कोइराला, प्रकाशमान सिंहलगायत पक्षका भने एक सय ८० जना मात्रै सभापतिमा निर्वाचित भएका छन् । सम्पन्न पालिका अधिवेशनमा नेता कृष्णप्रसाद सिटौला पक्षका १६, विजय गच्छदार पक्षका दुई र विमलेन्द्र निधि पक्षका दुईजना निर्वाचित भएका छन् । यस्तै, कुन पक्ष हो भन्ने नखुलेका ४९ जना छन् ।
प्रदेश-१ का एक सय ३६ पालिकामा भएको निर्वाचनमा देउवा पक्षले ६० स्थानमा सभापति जितेको छ भने पौडेल-कोइराला पक्षले ४९ स्थानमा मात्रै सभापति जित्न सफल भएको छ । यसैगरी प्रदेश–१ मा सिटौला पक्षका १३ जना पालिका सभापतिमा निर्वाचित भएका छन् ।
वागमती प्रदेशमा सम्पन्न ९९ वटा पालिका अधिवेशनमा देउवा पक्षले ५३ स्थानमा सभापति जितेको छ । कोइराला र पौडेल पक्षले भने वागमतीमा ३३ स्थानमा मात्रै सभापति जितेको छ । कतिपय भने कुनै पनि गुटमा खुलेका छैनन् ।
यस्तै, गण्डकी प्रदेशको सम्पन्न ८५ पालिकामा देउवा पक्षले ३९ स्थानमा जितेको छ । पौडेलको गृह प्रदेश गण्डकीमा उनी र कोइराला पक्षका २७ जनाले मात्रै पालिकाको सभापतिमा जित हासिल गरेका छन् ।
लुम्बिनी प्रदेशमा सम्पन्न ८८ पालिका अधिवेशनमा पनि देउवा पक्ष अगाडि देखिएको छ । लुम्बिनीमा देउवा पक्षले ३५ स्थानमा सभापति जित्न सफल भएको छ । लुम्बिनीमा पौडेल र कोइराला पक्षका भने २९ जनाले मात्रै सभापति जितेका छन् । कतिपय भने कुन पक्षको भन्ने खुलेका छैनन् ।
कर्णालीमा अधिवेशन सम्पन्न भएका ६२ पालिकामध्ये देउवा पक्षले ३६ स्थानमा जितेको छ । कोइराला र देउवा पक्षले भने २६ स्थानमा पालिका सभापतिमा जितेको छ । कर्णालीमा पनि कतिपय निर्वाचित सभापतिहरू कुन पक्षमा हो भन्ने प्रष्ट खुलेका छैनन् ।
सुदूरपश्चिम प्रदेशका सम्पन्न १९ पालिका अधिवेशनमा देउवा पक्ष १७ स्थानमा विजयी भएको छ । त्यहाँ कोइराला र पौडेल पक्षले भने बझाङको एक ठाउँमा मात्रै जितेको छ । सुदूरपश्चिममा अधिकांश क्षेत्रमा पालिका अधिवेशन हुन बाँकी छ ।











