मुलुक र जनताको रक्षामा नेपाल प्रहरी : मुख्यमन्त्री आचार्य
विराटनगर, असोज २० : प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले मुलुक र जनताको रक्षामा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। प्रहरी दिवसको अवसरमा...
विराटनगर, असोज २० : प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले मुलुक र जनताको रक्षामा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
प्रहरी दिवसको अवसरमा १ नं प्रदेश प्रहरी कार्यालय रानी विराटनगरद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले जनताको रक्षा नै देशको रक्षा भएको बताए।
शान्ति सुरक्षा र अपराध नियन्त्रण एवं अनुसन्धानमा नेपाल प्रहरीले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै मुख्यमन्त्री आचार्यले क्षेत्रीय सन्तुलन र जातीय विभेद अन्त्य गर्न प्रहरीले महत्वपूर्ण काम गरिरहेको धारणा राखे। उनले अपराध अनुसन्धानदेखि नै प्रहरीले राम्रो काम गरिरहेको छ भन्दै जनतालाई न्याय दिलाउने प्रारम्भिक थलोको रुपमा प्रहरी सङ्गठन अब्बल छ भने । आफ्नो काममा इमान्दारिता र व्यावसायिक क्षमता प्रदर्शन गर्न प्रहरी सङ्गठनलाई आग्रह गर्दै उनले भने, ‘प्रहरी सङ्गठन स्वच्छ र पारदर्शी हुनुपर्छ ।’
प्रदेशका आन्तरिक मामिल तथा कानून राज्यमन्त्री लीलाबल्वभ अधिकारीले प्रदेश प्रहरीलाई समय सापेक्ष विकास गर्न प्रदेश सरकार प्रयत्नशील छ भने। उनले सीमित साधन र स्रोतको बाबजुद पनि प्रदेश प्रहरीले समाजमा खेलेका भूमिका प्रशंसनीय छ भन्दै प्रदेश सरकारले प्रदेश प्रहरी ऐन पारित गरेर प्रमाणीकरण भइसक्दा पनि सङ्घीय प्रहरी ऐन नआएकाले समस्या भइरहेको चर्चा गरे। प्रहरीलाई व्यवस्थित एवं मर्यादित बनाउन प्रदेश प्रहरी ऐनले सहयोगी भूमिका निर्वाह गर्ने चर्चा गर्दै राज्यमन्त्री अधिकारीले प्रदेश सरकारले प्रहरीलाई भौतिक, नैतिक र कानूनी सहयोग गर्ने धारणा राखे।
प्रदेश नं १ का प्रहरी प्रमुख अरुणकुमार विसीले देश र जनताका लागि नेपाल प्रहरीले स्थापना कालदेखि नै कर्तव्यनिष्ट भएर काम गरिरहेको बताए। उनले सीमित साधन र स्रोतको बाबजुद पनि अपराध अनुसन्धान एवं नियन्त्रण तथा शान्ति सुरक्षाको क्षेत्रमा प्रहरीले हरसम्भव काम गरिहेको धारणा राख्दै प्रहरीले कर्तव्य पालनामा उच्च मनोबल र सामूहिक भावनाबाट अघि बढिरहेको छ भने।
अपराध अनुसन्धान सर्वोत्कृष्ट कार्य गरेका सङ्खुवासभा चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र प्रदेश प्रहरी कार्यालय विराटनगरका नायब प्रहरी निरीक्षक रुद्रबहादुर खड्कालाई जनही रु ६० हजारको प्राडा विक्रमप्रसाद श्रेष्ठद्वारा स्थापित ‘साधनादेवी उत्कृष्ट प्रहरी’ पुस्कार सो अवसरमा प्रदान गरियो।
यस वर्षका एसइई परीक्षामा सर्वोत्कृष्ट प्रहरी कर्मचारीका ३६ छात्रछात्रालाई जनही रु।१० हजार राशिको पुरस्कार एवं प्रहरी कार्यालय बनाउन सहयोग गर्ने ३४ जग्गादातालाई सम्मान र प्रदेशभरिमा शान्ति सुरक्षा, अपराध अनुसन्धान एवं विविध पक्षमा काम गर्ने प्रहरी अधिकृत र प्रहरी जवानलाई पनि सो अवसरमा पुरस्कृत गरियो।











