चाँगुनारायणमा विपद जोखिम न्यूनीकरणसम्बन्धी प्रयोगाभ्यास
काठमाडौं, असोज २० : भूकम्प तथा आगलागीजस्ता विपद्बाट नागरिकलाई सुरक्षित रहने उपायका बारेमा चाँगुनारायण नगरपालिकामा एक दिवसीय प्रशिक्षण सञ्चालन गरिएको छ।
नगरपालिका र सामाजिक तथा वातावरणीय परिवर्तन अध्ययन संस्था (आइसेट नेपाल) को सहकार्यमा वडा नं १ र २ का विभिन्न सरोकारवाला सम्मिलित प्रक्षिण कार्यक्रममा भूकम्प तथा आगलागीबाट कसरी जोगिन सकिन्छ भन्ने बारेमा तालीम तथा पूर्वाभ्यास गरिएको थियो।
कार्यक्रममा वडाका प्रतिनिधि, समाजसेवी, उद्योगी, नेपाल रेडक्रसका प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रहरी अधिकृत, महिला, गृहिणीलगायत स्थानीयवासीको सहभागिता रहेको थियो। नेपाल विभिन्न विपद्का दृष्टिले उच्च जोखिममा रहेका कारण यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न नागरिकस्तरमा सचेतनाको खाँचो रहेको वडा नं २ का अध्यक्ष शिवहरि केसीले जानकारी दिए।
उनले यस किसिमका जनचेतनामूलक कार्यक्रम नगरपालिकाका अन्य वडामा पनि सञ्चालन गरिने बताए। आइसेट नेपालले डिसीएको आर्थिक सहयोगमा सो नगरपालिकामा बाढी, पहिरो, आगलागी र भूकम्पजस्ता विपद्को जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ।