यस्ता छन् नागदहका कयौं किंवदन्ती
काठमाडौं, साउन २० : आज नागपञ्चमी। घरघरमा नागको तस्बीर टाँसी नागलाई पूजा गरि मनाइने नाग पञ्चमीमा काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा मेला लाग्ने गर्छ। ना....

काठमाडौं, साउन २० : आज नागपञ्चमी। घरघरमा नागको तस्बीर टाँसी नागलाई पूजा गरि मनाइने नाग पञ्चमीमा काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा मेला लाग्ने गर्छ। नाग पञ्चमीमा विशेष मेला लाग्ने स्थानहरूमध्ये ललितपुर धापाखेलको नागदह पनि हो।
चक्रपथ सातदोबाटोबाट करिब चार किलोमिटर दूरीमा रहेको यो दहमा नागपञ्चमीको दिन बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्छ। नागदह संरक्षण समितिका अध्यक्ष सलाम सिंह मोक्तानकाअनुसार नाग पञ्चमीको दिन बिहान ३ बजेदेखि नै भक्तजन आउन थाल्छन्।
आज साउने सोमबार परेकाले नागदह नजिकै रहेको सन्तानेश्वर महादेवमा पनि मेला लाग्छ। त्यसैले यहाँ घुइचो लाग्ने गरेको उनले बताए। मेलाको लागि समितिबाट सरसफाइ गर्ने, गेट बनाउने कार्य भइरहेको उनले बताए।
नागदहमा मेला भर्न आउने भक्तजनलाई पूजा गर्न नागको विशाल मूर्ति पनि रहेको छ। यसको साथै गणेश, सरस्वती, महादेवको मूर्तिहरू पनि रहेका छन्।
नागदह धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्र हो। धार्मिक मान्यताअनुसार, काठमाडौं उपत्यका पूरै दहको अवस्थामा रहेको बेला मञ्जुश्रीले चोभार डाँडा काटी पानी बाहिर पठाएपछि यहाँ रहेका नागहरु नागदहमा बस्ने गएका थिए। त्यसैले यस ठाउँलाई नागदह भनिएको जनविश्वास छ।
अर्को धार्मिक मान्यताअनुसार, समुद्र मन्थन हुँदा कालकुट विष पिएका महादेव विषले पोलेर छटपटाएपछि शान्त पार्न नागदहमा बस्न आएका थिए। तर, यहाँ बस्दा पनि शान्त नभएपछि उनी गोसाँइकुन्ड गएका थिए भन्ने विश्वास छ। महादेव गोसाँइकुन्ड जाँदा उनको जटामा रहेको नाग भने यहिँ खसेका र त्यसैले यस ठाउँलाई नागदह भनिएको भन्ने भनाइ पनि प्रचलित छ।
यस नागदहसम्बन्धी विभिन्न किंवदन्ती पनि रहेका छन्। तीमध्ये एक किंवदन्तीअनुसार यस दहको वरपर बस्ने कसैलाई भाँडाकुडा चाहियो भने एक दिन अगाडि यस पोखरीमा आएर मागेपछि भोलिपल्ट उनले मागेको भाँडाकुँडा दहले पुर्याइदिन्छ भन्ने विश्वास छ। यसरी दहबाट लिएको भाँडाकुँडा भने आफ्नो काम सकेपछि फेरि दहमै ल्याएर फर्काउनुपर्छ। तर, एकपटक एकजना स्थानीयले दहबाट मागेर लगेको भाँडा फिर्ता नगरेपछि दहबाट भाँडाकुँडा दिने बन्द भएको जनविश्वास छ।
त्यस्तै यस दहमा नुहाउँदा सुन्दर हुने भनाइ पनि रहेको छ। हिमवत् खण्डमा उल्लेख भएको नागदहसम्बन्धी अर्को किंवदन्तीअनुसार परापूर्वकालमा एक कुरुप युवतीलाई उनको पतिले कुरुप भएकै कारण छाडेर गए। आफू कुरुप भएकोले पतिले छोडेपछि विक्षिप्त भएकी उनी मर्न भनी नागदहमा हाम फालिन्।
तर, उनी हाम फालेको त्यहिँ बसिरहेका एकजना किराँत युवकले देखे। युवती हाम फालेको देखेपछि ती किराँत युवक उनलाई बचाउन गए। ती कुरुप युवतीलाई दहबाट निकाल्दा उनी त रुपवति भएर निस्किइन्। रुपवति युवतीदेखि ती किराँत युवक मोहित भए र उनीसँग बिहे गरे। त्यसैले यो दहमा नुहाउँदा रुवपति हुने धार्मिक विश्वास पनि रहेको छ।
धार्मिक रुपमा महत्वपूर्ण रहेको यो क्षेत्र पर्यटकीय तथा वातावरणीय दृष्टिकोणले पनि महत्वपूर्ण स्थान हो। नागदह काठमाडौं उपत्यकामा रहेको सीमसार क्षेत्रमध्ये एक हो। यस क्षेत्रमा वर्षको दुईचोटी ठूलो राजहाँस आइ बस्ने गरेको छ। दहमा विभिन्न रंगका कमलका फूलहरु पनि छन्।
करिब ४२ रोपनीमा फैलिएको दह रमणीय स्थल भएकाले यहाँ वर्षैभर आन्तरिक पर्यटकको पनि घुइचो लाग्ने गर्छ। यो दहको बनोट पनि विचित्रको रहेको छ।
यस दहलाई कुनै एक ठाउँबाट हेर्दा पूर्ण रुपमा देख्न सकिँदैन। आन्तरिक पर्यटकको लागि समितिले नागदहमा बोटिङ्गको व्यवस्था पनि गरेको छ।
समितिका अध्यक्ष मोक्तानकाअनुसार यहाँ अहिले पाँचवटा बोट संचालन भइरहेको छ भने एक राउन्ड पोखरी घुम्नको लागि प्रति व्यक्ति सय रुपैँया शुल्क लिने गरिएको छ।
यस ठाउँलाई व्यवस्थित पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न समितिले नेपाल सरकार शहरी विकास प्राधिकरणको करिब साढे तीन करोडको बजेटमा विभिन्न निर्माण कार्य गरिरहेको अध्यक्ष मोक्तानले बताए।

-1784896419.png)









