Kathmandu Press

आज पितृ विसर्जन गरिँदै

महोत्तरी, असोज २० : असोज कृष्णपक्षको अन्तिम दिन आज आफ्ना दिवङ्गत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदै छ।बडादशैँ पर्व सुरु हुनुअघि पितृ (दिवङ्गत...
आज पितृ विसर्जन गरिँदै

महोत्तरी, असोज २० : असोज कृष्णपक्षको अन्तिम दिन आज आफ्ना दिवङ्गत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदै छ।

बडादशैँ पर्व सुरु हुनुअघि पितृ (दिवङ्गत आफन्त)लाई तर्पण दिँदै असोज कृष्णपक्षभरिको पितृपक्ष आज विसर्जन गर्न लागिएको हो। पितृ विसर्जन गर्न आज मैथिल परम्पराअनुसार जिल्लाका धार्मिकस्थल र पवित्र जलासय एकाबिहानै भरिभराउ छन्।

पितृपक्षमा धार्मिकस्थलमा पितृलाई तर्पण र पिण्ड दिने हिन्दू मैथिल परम्परा छ। यसै परम्परालाई थाम्दै आज हिन्दू मैथिलले महोत्तरीका धार्मिक महत्वका जलाशय र धार्मिकस्थलमा तर्पण तथा पिण्ड दिएर १५ दिने पितृपक्ष विसर्जन गर्न लागेका हुन्।

यस अवसरमा जिल्ला सदरमुकाम जलेश्वरस्थित  जलेश्वरनाथ महादेव मन्दिर, पुरन्दर, वरुण र भार्गव सर ९तलाउ० तथा जिल्लाकै मटिहानीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा पितृ तर्पण दिनेहरु भरिभराउ छन्।

यसबाहेक बलवा नगरपालिकाको ध्रुवकुण्ड, भङ्गाहा नगरपालिकाको सिद्धनाथस्थान, बर्दिबास नगरपालिकाभित्रका टुटेश्वरनाथ महादेव मन्दिर, राईमण्डल धार्मिक क्षेत्र र रातु, मरहा, जङ्घा एवं बाँके नदी किनारमा श्रद्धालुहरुको जमघट देखिएको छ।

पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ तृप्त हुन्छन् भन्ने मैथिल–हिन्दू जनविश्वास छ।  

दशैँ, तिहार र छठजस्ता महान् चाडवाडअघि पितृलाई तृप्त गर्न एउटा पक्षभरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा चलेको हिन्दू परम्पराको कर्मकाण्डका ज्ञाता बताउँछन्। वर्षका अन्य बेला गरिने शुभकार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादि) अघि नान्यमुखी श्राद्ध गरेर कार्य निर्विघ्न सम्पन्न होस् भन्ने गरिने कामनाजस्तै दशैँ, तिहार र छठपर्वको मुखमा पितृहरुलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको हुनसक्ने पण्डित भरतराज बरालको भनाइ छ।

हिन्दू परम्परामा पितृपक्षभरि पितृहरु स्वर्गलोकबाट विचरण गर्न मत्र्यलोक (पृथ्वी) झर्ने भएकाले आफ्ना सन्तानले यसपक्षमा दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ। पितृपक्ष विसर्जनसँगै अब बडादशैँ पर्वको चहलपहल सुरु भएको देखिँदो छ। (रासस)

प्रकाशित मिति: ०८:४९ बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्