५२ वर्षपछि आफन्तको सम्पर्कमा आए गङ्गाबहादुर
बेनी, असोज २० : सम्पर्कविहीन भएकोे ५२ वर्षपछि म्याग्दीका एक जना बृद्धको पारिवारिक पुनःमिलन भएको छ।२०२३ सालमा घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५...बेनी, असोज २० : सम्पर्कविहीन भएकोे ५२ वर्षपछि म्याग्दीका एक जना बृद्धको पारिवारिक पुनःमिलन भएको छ।
२०२३ सालमा घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ (जङ्गबहादुर) को मङ्गलबारमात्रै आफन्तसँग भेट भएको हो। २००३ सालमा जन्मिएका गुरुङ सम्पर्कविहीन भएको करिब चार वर्षपछि कैलालीको चुरे गाउँपालिका-३ मस्यगाउँमा पुगेको खबर त्यतिवेला परिवारले पाएका थिए। त्यसपछि पनि उनी परिवारको सम्पर्कमा आएका थिएनन्।
हालैमात्र स्थानीय युवाले सामाजिक सञ्जालमा गुरुङको तस्वीर राखेको र उनले बागलुङ, बेनी, तातोपानीको नाम लिएको जानकारी गराएका थिए। आफ्नो पुर्ख्यौली थलो बेनी भएको र आफू त्यहाँ फर्कन चाहेको सन्देश राखेपछि नेपाल रेडक्रस सोसाइटी म्याग्दीले गुरुङको खोजी सुरु गरेको थियो।
रेडक्रसअन्तर्गत रहेको खोज तथा उद्धार सेवा केन्द्रले गुरुङको अवस्था र जिल्लामा सम्भावित आफन्तबारे खोजी गरेको थियो। खोजीका क्रममा थामडाँडाबाट वर्षौँदेखि आफन्त हराएका परिवार सम्पर्कमा आएपछि गुरुङ र उनका आफन्तबीच टेलिफोनमा संवाद गराइएको थियो।
आफन्तले झण्डै ६० वटा प्रश्नमार्फत आफन्तको नाम, तत्कालीन गाउँको अवस्था आदिबारे सोधेका प्रश्नमा उनले दिएको जवाफले उनको यकिन गरेका थिए।
कैलालीमा स्थानीय प्रतिष्ठित एक व्यक्तिको सहारामा बसोबास गर्दै आएका गुरुङ थामडाँडाका बलवीर गुरुङका हराएका माइला छोरा रहेको पुष्टि भएपछि रेडक्रस म्याग्दीको समन्वयमा उनका भाइका परिवारसँग मङ्गलबार पुनःमिलन भएको छ। गुरुङका भाइका छोरा शेरबहादुर र छोरी विसु गुरुङले रेडक्रस म्याग्दीको समन्वयमा कैलाली पुगेर आफ्ना माइला बुबालाई उद्धार गरी ल्याएका हुन्।
रेडक्रस म्याग्दीका सभापति लेखबहादुर हमाल र अधिकृत धनञ्जयकुमार श्रेष्ठसहित रेडक्रसकर्मीको उपस्थितिमा गुरुङको पारिवारिक पुनःमिलन गराइएको थियो। (रासस)











