Kathmandu Press

पृथ्वीको मौसममा शोध गरेका तीन वैज्ञानिकले पाए भौतिक शास्त्रमा नोबेल पुरस्कार

स्विडेनको राजधानी स्टकहोममा आयोजित संवाददाता सम्मेलनमा यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरिएको हो । पुरस्कार पाउने वैज्ञानिकहरूमा स्युकुरो मानाबे, क्लाउस हेसलम्यान र जर्जियो परिसी छन् ।
पृथ्वीको मौसममा शोध गरेका तीन वैज्ञानिकले पाए भौतिक शास्त्रमा नोबेल पुरस्कार

स्टकहोम, असोज १९ : पृथ्वीको जलवायुजस्ता जटिल प्रणालीबारे शोध गरेवापत तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानिक गरिने भएको छ ।

बीबीसीका अनुसार स्विडेनको राजधानी स्टकहोममा आयोजित संवाददाता सम्मेलनमा यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरिएको हो । पुरस्कार पाउने वैज्ञानिकहरूमा स्युकुरो मानाबे, क्लाउस हेसलम्यान र जर्जियो परिसी छन् ।

उनीहरूले संयुक्त रूपमा एक करोड क्रोना (करिब १३ करोड ६४ लाख रुपैयाँ) प्राप्त गर्ने छन् ।

स्विडिस उद्योगपति अल्फ्रेड नोबेलले आफ्नो निधन हुनु एक वर्षअघि नोबेल पुरस्कार स्थापना गरेका थिए ।

नोबेल पुरस्कार समितिका अनुसार मानाबे र हेसलम्यानले गरेको शोधबाट पृथ्वीको जलवायुबारे ज्ञानको दायरा बढाउन आधार पारेको छ, जसमा मानवीय गतिविधिले कसरी घुसपैठ गर्छ भन्ने प्रष्ट हुन्छ । यस्तै, परिसीको शोधबाट पनि हालसम्म स्पष्ट हुन नसकेका कतिपय विषयलाई बुझ्न र वर्णन गर्न सहज भएको समितिको भनाइ छ ।

तीनैजनाको शोध भौतिक विज्ञानमा मात्र नभई गणित, जीव विज्ञान, न्युरोसाइन्स र मेसिन लर्निङ (आर्टिफिसियल इन्टेलिजेन्स)जस्ता बहुल क्षेत्रमा उपयोगी हुने आशा रहेको समितिले बताएको छ ।

सन् १९०१ देखि दिन थालिएको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार हालसम्म दुई सय १८ वैज्ञानिकले पाइसकेका छन् । तीमध्ये चारजना मात्र महिला छन् । यस्तै, वैज्ञानिक जोन बार्डिनले सन् १९५६ र १९७२ मा गरी दुईपटक यो पुरस्कार प्राप्त गरेका छन् ।

प्रकाशित मिति: १६:३६ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्