संखुवासभा हत्या काण्डमा चार जना जेल चलान
संखुवासभा, असोज १९ : संखुवासभामा एकै परिवारका ६ जनाको हत्या घटनामा चार जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।जिल्ला अदालत, संखुवासभाले हत्या अभियोग...
संखुवासभा, असोज १९ : संखुवासभामा एकै परिवारका ६ जनाको हत्या घटनामा चार जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।
जिल्ला अदालत, संखुवासभाले हत्या अभियोग लागेका पाँचमध्ये चार जनालाई जेल चलान गर्ने आदेश दिएको हो। एक जना नाबालक रहेकाले सुधारगृहमा पठाउने आदेश गरेको छ।
अदालतको आदेश अनुसार संखुवासभाको मादी नगरपालिका–१, उम्लिङमा लोकबहादुर कार्की, खड्गबहादुर कार्की, हस्तबहादुर कार्की र रणबहादुर कार्कीलाई जेल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
त्यस्तै, घटनामा संलग्न भएको आरोप लागेका १७ वर्षीय किशोरलाई सुधारगृह पठाइएको छ। उनलाई सुधारगृहमा राखेर मुद्दा चलाइने भएको छ।
पाँचै जनाले जिल्ला अदालत र प्रहरी समक्ष अपराध स्वीकारेको जिल्ला प्रहरी कार्यालयका डीएसपी लालध्वज सुवेदीले जानकारी दिए।
गत भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला कार्की, बुहारी रञ्जना कार्की, आठ वर्षका नाति विपिन कार्की र पाँच वर्षीया नातिनी गोमा कार्कीको हत्या गरिएको थियो।
घटनाको मुख्य योजनाकार स्थानीय खड्गबहादुर कार्की रहेको प्रहरी अनुसन्धानमा देखिएको थियो। उनीहरुले पैसाका लागि हत्या गरेको देखिएको प्रहरीले जनाएको छ।











