कतार प्रवेशमा नयाँ नियमः स्वीकृत खोप नलगाए कतार प्रवेशमा रोक
काठमाडौं, असोज १८ : वैदेशिक रोजगारीको सिलसिलामा कतार जानेहरुका लागि कतार सरकारले केहि नियमहरु पालना गर्नुपर्ने जनाएको छ ।कतार सरकारले दक्षिण एसियाका नेपाल,...
काठमाडौं, असोज १८ : वैदेशिक रोजगारीको सिलसिलामा कतार जानेहरुका लागि कतार सरकारले केहि नियमहरु पालना गर्नुपर्ने जनाएको छ ।
कतार सरकारले दक्षिण एसियाका नेपाल, बंगलादेश, भारत, पाकिस्तान, श्रीलङ्का लगायत अन्य केही देशहरुले कतार प्रवेश गर्नुभन्दा पहिले पालना गर्नुपर्ने नियममा परिमार्जन गरेको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । कतार जानको लागि मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट पीसीआर परीक्षण गरेको ७२ घण्टाभित्रको नेगेटिभ प्रमाणपत्र साथमा हुनुपर्छ ।
नयाँ मापदण्डअनुसार कतारमा पहिलोपटक प्रवेश गर्ने यात्रुहरुले www.ehteraz.gov.qa वेबसाइटमा गइ पीसीआर परीक्षणको प्रमाणपत्र, खोप लगाएको प्रमाणपत्र र अन्य सान्दर्भिक कागजातहरु अपलोड गरि प्रि रजिष्ट्रेशन समेत गर्नुपर्ने बताएको छ । यस्तै सबै यात्रुहरुले आफ्नो मोबाइलमा इटेराज मोबाइल एप्लिकेशन अनिवार्य डाउनलोड गरेर राखेको हुनुपर्छ । यसको लागि नेपालको सीमकार्डका पनि प्रयोग गर्न सकिने बताइएको छ ।
यसैगरी, कतार सरकारले फाइजर, सिनोभ्याक, सिनोफर्म, मोडेर्ना, अस्ट्राजेनेका र स्पुत्निक भी र जोनसन एण्ड जोनसनलाई मान्यता दिएको छ । जोनसन एण्ड जोनसन बाहेक अरु खोप दुवै डोज लगाएको हुनुपर्ने जनाइएको छ । यस्तै खोपको मात्रा पूरा गरेको १४ दिन पूरा गरेपछि मात्र यात्रा गर्न सकिनेछ ।
कतार सरकारले मान्यता दिएका खोपको पूर्ण मात्रा लगाएको भए पनि दुई दिन होटल क्वरेण्टिनमा बस्नुपर्नेछ । यस्तै कतार सरकारले जनाएअनुसार खोप लगाउँदै नलगाएका वा खोपको पूर्ण मात्रा नलगाएकाहरुले भने सात दिनसम्म होटल क्वरेण्टिनमा बस्नुपर्ने हुन्छ । स्वीकृत गरिएका खोप नलगाएका नयाँ यात्रुलाई भने कतार प्रवेश गर्न नदिइने त्यहाँको सरकारको निर्णयलाई उद्धृत गर्दै नेपाली दूतावासले जनाएको छ ।











