प्रधानन्यायाधीश जबराले मन्त्री मागेको भन्दै समाचार आउनु अत्यन्तै दुःखद : सर्वोच्च
काठमाडौं, असोज १८ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मन्त्रिपरिषद विस्तारमा भाग खोजेको भन्दै आएका समाचारमा कुनै सत्यता नभएको सर्वोच्च अदालतले स्पष्ट पारेको छ।प्रधानन्यायाधीश जबरालाई जोडेर आएका...
काठमाडौं, असोज १८ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मन्त्रिपरिषद विस्तारमा भाग खोजेको भन्दै आएका समाचारमा कुनै सत्यता नभएको सर्वोच्च अदालतले स्पष्ट पारेको छ।
प्रधानन्यायाधीश जबरालाई जोडेर आएका त्यस्ता समाचारप्रति सर्वोच्च अदालतको ध्यानाकर्षण भएको पनि जनाइएको छ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले आज (सोमबार) एक प्रेस विज्ञप्ति जारी गरेर भनेका छन्, ‘विगत केही दिनदेखि मन्त्रिपरिषद्को विस्तारमा प्रधानन्यायाधीशको संलग्नता समेतका शीर्षक राखी विभिन्न पत्रपत्रिका एवं अनलाइन माध्यमबाट समेत प्रकाशित भएका समाचारहरूको सम्बन्धमा सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण भएको छ ।’
संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन एवं विस्तारको विषयमा सम्मानीय प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुःखद र खेदजन्य विषय भएको विज्ञप्तिमा उल्लेख छ।
संविधानबमोजिम स्वतन्त्र, स्वायत्त एवं संवेदनशिलताका साथ क्रियाशिल रहनुपर्ने न्यायालयको नेतृत्वलाई कुत्सित मनसाय राखी लाञ्छित गर्ने उद्देश्यले समाचार आएको विज्ञप्तिमा जनाइएको छ।
‘सम्मानीय प्रधानन्यायाधीशज्यूबाट नेपालको संविधानबमोजिम न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र सक्षम बनाउने विषयमा आफ्नो स्पष्ट प्रतिबद्धता रहेको धारणा विभिन्न समयमा व्यक्त हुँदै आएको स्मरण गराउँदै सर्वोच्च अदालतको अमुक फैसला समेतका सन्दर्भ जोडी यस प्रकारका समाचारहरू आउनु अदालतप्रतिको जनआस्था एवं नेतृत्वप्रति प्रतिकूल प्रभाव पार्ने दूषित मनशायबाहेक अरु केही हुन सक्दैन,’ विज्ञप्तिमा उललेख छ।
सर्वोच्चले यस्ता भ्रामक समाचारमा विश्वास नगर्न नागरिकलाई अनुरोध गरेको छ।












