आज विश्व बसोबास दिवस मनाइँदै
काठमाडौं, असोज १८ : सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास प्रवर्द्धन गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको विश्व बसोबास...
काठमाडौं, असोज १८ : सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास प्रवर्द्धन गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको विश्व बसोबास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम (युएन ह्याविट्याट) को आह्वानमा यो दिवस मनाउन सुरु गरिएको हो। नेपालमा भने सन् २००१ देखि सरकारी एवं गैरसरकारी क्षेत्रबाट यो दिवस मनाउन सुरु गरिएको हो।
‘तीव्र शहरी क्रियाकलापको लक्ष्य ः कार्बनरहित विश्व’ नाराका साथ यस वर्षको विश्व बसोबास दिवस मनाउन लागिएको विश्व बसोबास दिवस मूल तयारी समितिका संयोजक विष्णुप्रसाद शर्माले बताए।
यस वर्षको नाराले शहरले बनोट, भवन तथा पूर्वाधार निर्माण, सवारी व्यवस्थापन, हरियाली क्षेत्र व्यवस्थापन आदि क्रियाकलाप गर्दा दिगो शहरीकरण तथा दिगो विकास लक्ष्यलाई ध्यानमा राखी न्यून कार्बन उत्सर्जन गर्नेगरी वातावरणमैत्री विकास गर्नुपर्नेमा जोड दिएको छ। वातावरणमैत्री शहरी विकास निर्माणमा तीनै तहका सरकारको ध्यान जानुपर्ने शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।
विश्व बैंकको तथ्याङ्कअनुसार सन् १९९० देखि हालसम्म शहरी जनसङ्ख्या चारगुणाले बढेर ४.२ अर्बभन्दा धेरै पुगेको छ। शहरीकरणका कारण वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढी विश्व तापमान एक तिहाइभन्दा धेरै भएको विभागले जनाएको छ।











