Kathmandu Press

विपद्बाट दाङमा १३ जनाको मृत्यु, २०० भन्दा धेरै घरमा क्षति

विपद्बाट दाङमा १३ जनाको मृत्यु, २०० भन्दा धेरै घरमा क्षति

दाङ, असोज १७ : प्राकृतिक विपद्मा परेर जनधनको क्षति हुने गरेको छ। अविरल वर्षाले होस् या खोला वा नदी तर्दा बगेर बर्सेनि धरै मानिसको ज्यान जाने गरेको छ। गत असार २४ गते घोराही–१७ क्वाडीमा अविरल वर्षाका कारण मनिषा चौघरीको घर भत्किँदा उहाँकी तीन महिनाकी छोरीको घटनास्थलमै मृत्यु भयो। सो घटनामा मनिषा र उनकी अर्की छोरी घाइते भइन्। 

असार ९ गते लमही नगरपालिका–३ फलकापुरका ३० वर्षीय मणिराम चौधरीको स्थानीय खहरे खोलाले बगाएर मृत्यु भयो। खेतमा काम गरेर घर फर्कंदै गर्दा चौधरीलाई खोलाले बगाएको थियो। यो त उदाहरण मात्रै हो जिल्लामा विपद्मा गरेर ज्यान गुमाउनेहरु धेरै छन्।  

यही भदौ १७ गते नेपालगञ्जबाट घोराही आउँदै गरेको प्रदेश ३–०१–२४ च ४४४० नं को कार घोराही–४ सिस्ने  खोलामा आएको बाढीले बगाउँदा गाडीमा सवार चार महिलाको मृत्यु भएको थियो। चालक भने घाइते अवस्थामा फेला परेका थिए।  

दाङमा चालु आर्थिक वर्षको हालसम्म विभिन्न विपद्का घटनामा परी १३ जनाको मृत्यु भएको छ। विपद्बाट करिब साढे तीन करोड रुपैयाँ बराबरको क्षति भएको जिल्ला आपत्कालीन कार्य सञ्चलन केन्द्रले जनाएको छ। 

केन्द्रका सूचना व्यवस्थापक अधिकृत विश्वप्रकाश अर्यालका अनुसार घर भत्किएर, खोला तथा नदीले बगाउँदा १२ जनाको मृत्यु भएको हो। एक जना अझै बेपत्ता रहेका छन्। त्यस्तै अविरल वर्षाका कारण २०५ वटा घर भत्किएका छन्। 

यसैगरी विपद्बाट १०० भन्दा बढी पशुचौपाया मरेको अधिकृत अर्यालले जानकारी दिए। उनका अनुसार हालसम्म घर भत्किएका परिवार तथा मृतकका परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट ५२ लाख ७५ हजार रुपैयाँ राहत वितरण गरिएको छ। 

घर भत्किएका परिवारलाई १५ देखि २० हजार रुपैयाँ र मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने गरिएको अर्यालले बताए। विपद्का कारण सबैभन्दा बढी घोराही उपमहानगरपालिकाका नागरिकले ज्यान गुमाएका छन्। त्यस्तै, तुलसीपुर, शान्तिनगर, बङ्गलाचुली, दङ्गीशरण, गढवा र लमही नगरपालिका नागरिकले ज्यान गुमाएका छन्। 

दाङमा गत आर्थिक वर्षमा विपद्का घटनामा परेर ४९ जनाको मृत्यु र २६ जना घाइते भएका थिए। तीमध्ये १४ महिला र ३५ पुरुष रहेको केन्द्रले जनाएको छ।

प्रकाशित मिति: २०:०९ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्