एमाले विधान महाधिवेशन : अध्यक्षसहित १६ पदाधिकारी रहने संगठनात्मक प्रस्ताव पारित, ७० वर्षे उमेरहद कायमै
केन्द्रीय पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, एक उपमहासचिव र सातजना सचिव रहने व्यवस्था गरिएको एमालेले गरेको छ।
काठमाडौं, असोज १७ : संघीय संसदमा प्रमुख प्रतिपक्षी दल एमालेको पहिलो विधान महाधिवेशन आइतबार सकिएको छ ।
ललितपुर गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनले राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनको प्रस्ताव सुझावसहित पारित गरेको छ ।
एमाले अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदनमा उठेका जिज्ञासाको जवाफ दिँदै जनताको बहुदलीय जनवाद कठिन वर्गसंघर्षबाट प्रतिपादित सिद्धान्त रहेको उल्लेख गर्दै समाजवाद निर्माणका लागि पार्टीको स्पष्ट धारणा रहेको बताए ।
श्रमजीवी वर्गको हित रक्षाका लागि सिद्धान्त र व्यवहारलार्ई अघि बढाउँदै कार्यक्रमका रूपमा आएको जबजलाई मार्गदर्शक सिद्धान्तका रूपमा पार्टीले अंगिकार गरेको र त्यसले द्वन्द्वात्मक भौतिकवाद र बहुदलीय प्रतिस्पर्धालाई अवलम्बन गरेको अध्यक्ष ओलीले बताए।
नेपाली समाज समाजवाद उन्मुख रहेको बताउँदै ओलीले त्यसतर्फ आफ्नो नेतृत्वको सरकारले धेरै काम गरेको दाबी गरे ।
समाजवादमा पुग्न राष्ट्रिय पुँजीको विकास गर्न एमाले प्रतिबद्ध रहेको वताउँदै उनले कार्यकर्ताहरूलाई उत्पादनमुलक काममा जोडिन आह्वान गरे । एमाले व्यक्तिपूजक नभएको दाबी उनको थियो । र, अहिले पनि ५१ प्रतिशत जनता एमालेको पक्षमा रहेको दाबी दोहो¥याए ।
सांगठनिक प्रस्तावमाथिका जिज्ञासा र सुझावबारे जवाफ दिँदै महासचिव ईश्वर पोखरेलले समूहगत छलफलबाट वर्तमान चुनौतीहरूको सामना गर्दै पार्टी कसरी अगाडि बढ्छ भन्नेलगायत विभिन्न महत्त्वपूर्ण टिप्पणी र सुझाव प्राप्त भएकाले तिनलाई ग्रहण गरिने प्रतिबद्धता व्यक्त गरे ।
संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेलले विधान संशोधनको प्रस्तावमाथि उठेका जिज्ञासाको जवाफ दिए । प्रतिनिधिहरूको सुझावलाई ध्यानमा राखी केन्द्रीय पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, एक उपमहासचिव र सातजना सचिव रहने व्यवस्था गरिएको उनले जानकारी दिए ।
विधानतः पार्टीमा ७० वर्षको उमेर हदका सम्बन्धमा स्पष्ट पार्दै उनले पार्टीको कार्यकारी पदमा ७० वर्ष पूरा नभएसम्म उम्मेदवार हुन पाउने र कार्यकाल पूरा नहुँदै उमेर हद पूरा भएका कारण जिम्मेवारीबाट हट्नु नपर्ने बताए । यस्तै, एउटै व्यक्ति कुनै पदमा दुई कार्यकालभन्दा बढी उम्मेदवार हुन नपाइने विधानमा स्पष्ट व्यवस्था हुने जानकारी पनि दिए ।
महाधिवेशनले डा. विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन आयोग सर्वसम्मतिले गठन गरेको छ । आयोगमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रिता सिंखडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बीसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विश्वकर्मा र हिमकला गैरे सदस्य छन् ।











