Kathmandu Press

आयल निगमको नोक्सान चुलियो

काठमाडौँ, असोज १६ : इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ। अक्टोबर १ मा...
आयल निगमको नोक्सान चुलियो

काठमाडौँ, असोज १६ : इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ। अक्टोबर १ मा आइओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन बिक्रीबाट एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी नोक्सान हुने निगमको प्रक्षेपण छ। 

आइओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य विभिन्न लागत जोड्दा निगमलाई प्रतिलिटर पेट्रोलमा १३९.१८ रुपैयाँ, डिजेलमा १२०.०१ रुपैयाँ, मट्टितेलमा ९३.९४ रुपैयाँ, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा ८४.०७ रुपैयाँ, बाह्य उडानमा प्रयोग हुने हवाई इन्धनमा ७६.४४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर एक हजार ९६१.८८ रुपैयाँ लागत पर्ने देखिएको छ। 

निगमले पछिल्लो समय गत भदौ ७ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो। यसअनुसार प्रतिलिटर पेट्रोलको १३० रुपैयाँ, डिजेल र मट्टितेलको ११३ रुपैयाँ, आन्तरिक हवाई इन्धनको ८६ रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार ४५० रुपैयाँ तोकिएको छ। उल्लेखित मूल्यका आधारमा अहिले निगमलाई प्रतिलिटर पेट्रोलमा ९.१८ रुपैयाँ नोक्सान, डिजेलमा ७.०१ रुपैयाँ नोक्सान, मट्टितेलमा १९.५९ रुपैयाँ नाफा, आन्तरिक हवाई इन्धनमा १.९३ रुपैयाँ नाफा, बाह्य हवाई इन्धनमा १५.१० रुपैयाँ नाफा र खाना पकाउने ग्यास प्रतिसिलिन्डर ५११.८८ रुपैयाँ नोक्सानको अवस्था छ। 

निगमलाई नाफा भएका मट्टितेल तथा हवाई इन्धनको माग तुलनात्मकरुपमा कम रहेको र नोक्सानीका अवस्थामा रहेको पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको माग अत्यधिक भएका कारण यही मूल्यमा बिक्री गर्दा निगमलाई १५ दिनमा मात्रै एक अर्ब ५० करोड ७३ लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। 

प्रकाशित मिति: २०:४३ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्