वाग्मती सफाइ महाअभियान ४३८औं हप्तामा
काठमाडौं, असोज १६ : वाग्मती सफाइ महाअभियानको ४३८औँ हप्तामा तिलगङ्गामुनिको नीलो पुल क्षेत्रमा सफाइ गरिएको छ। अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष...
काठमाडौं, असोज १६ : वाग्मती सफाइ महाअभियानको ४३८औँ हप्तामा तिलगङ्गामुनिको नीलो पुल क्षेत्रमा सफाइ गरिएको छ। अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनासहित करिब २०० अभियानकर्मीको सफाइमा सहभागिता थियो।
सफाइका क्रममा विगत हप्तामाभन्दा नदी किनारबाट अलि बढी फोहोर उठेकोे समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिए। विगत हप्ताभन्दा बढी फोहोर उठेको देखिए पनि उठाउन बाँकी फोहर पनि छिटो व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिकालाई अनुरोध गरिएको उनले सुनाए।
२०७० जेठ ५ देखि सुरु भएको महाअभियान प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा जारी छ। जाडो, गर्मी, वर्षा, प्राकृतिक प्रकोपको जोखिमका बेलासमेत महाअभियान निरन्तररुपमा हुँदै आएकोे छ।
यसबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा सहायक नदी र चक्रपथका विभिन्न भागमा पनि सफाइ भइरहेको छ । उपत्यकामा हाल २५ स्थानमा सफाइ भइरहेको जनाइएको छ।
काठमाडौँ उपत्यका बाहिरका प्रमुख नदी, शहर र सांस्कृतिक सम्पदा पनि वाग्मती सफाइ महाअभियानकै प्रेरणाबाट सफाइ भइरहेको हो। हाल उपत्यका बाहिर करिब १०८ भन्दाबढी स्थानमा स्वयंसेवी अभियानका रुपमा सफाइ भइरहेको छ।
यसैगरी आजै काठमाडौँ उपत्यकाका रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भेग, वाग्मतीका विभिन्न स्थान, चक्रपकथको उत्तरी र पश्चिमी भेग, मनोहरा, भक्तपुरको हनुमन्ते र ललितपुरको गोदावरी खोला पनि सफाइ गर्नाका साथै फोहरलाई वर्गीकरण गरी व्यवस्थापन गरिएको थियो।











