Kathmandu Press

सरकारले बनाएका घरमा मुक्त हलिया बस्न नमान्दा समस्या

सरकारले बनाएका घरमा मुक्त हलिया बस्न नमान्दा समस्या

डोटी, असोज १६ : मुक्त हलियाको पुनःस्थापनका लागि पाँच वर्षपहिले निर्माण गरिएका घरमा अहिलेसम्म पनि नबस्दा बर्सेनि ती घर भत्किन थालेका छन्। 

कतिपय घर वर्षात्को समयमा पर्ने झरीका कारण जगदेखि नै भत्किइसकेका छन् भने कतिपय भत्किने अवस्थामा पुगेका छन्। पूर्वीचौकी गाउँपालिका-२ बगलेकमा मुक्त हलिया पुनःस्थापनाका लागि निर्माण गरिएको मुक्तहलियाको बस्ती मान्छे नबस्दा दिनहुँ खण्डहर हुनाका साथै घर भत्किँदै गएका हुन्। 

पुस्तौंदेखि मालिकको घरमा हलो जोतेका १८ परिवार बस्न सरकारद्वारा स्थापना गरिएको उक्त बस्तीमा निर्माण भएको पाँच वर्ष बितिसक्दासमेत कोही पनि नबस्दा बस्ती खण्डहरमा परिणत हुँदै जान थालेको छ।

सरकारले निर्माण गरेको उक्त बस्तीमा पानी बिजुली नहुँदा मुक्त हलिया बस्न नसकेको उक्त सामूहिक बस्तीमा घर भएकी मुक्तहलिया चन्नरी कोलीले बताए। 

हलिया बस्ती स्थापनाका लागि विद्यालय, खानेपानी, विद्युत् तथा न्यूनतम विकासका पूर्वाधार हुनपर्ने कार्यविधिमा उल्लेख भए पनि बगलेकको बीच जङ्गलमा बस्ती बसाउँदा समस्या भएको मुक्त हलियाको गुनासो छ।

हलियालाई पुनः हलिया नै बनाई राख्न बगलेकको जङ्लमा बस्ती राख्न प्रपञ्च गरिएको हलिया अभियानकर्मी गोरखबहादुर सार्कीले बताए। 

कर्मचारी अभाव भएका कारण जिल्लाभरि मुक्त हलियाका मर्मत तथा निर्माण भएका सबै घरको अनुगमन गर्न नसकिएको घर अनुगमनको जिम्मा पाएका जिल्ला मालपोत कार्यालयका प्रमुख प्रेमबहादुर माझीले बताए।

सरकारले गएको वर्ष नै हलिया पुनःस्थापनाको काम सक्ने बताए पनि प्रभाकारी कार्यान्वयन नहुँदा वास्तविक पुनःस्थापना हुनेमा मुक्तहलियामा शङ्का पैदा गरेको छ। 

मुक्तहलिया पुनःस्थापना बस्तीमा एक घर पनि मापदण्डअनुसार नबनेका स्थानीयको आरोप छ । बस्तीमा जस्तापाताले छाएका घर भुइँतले मात्र छन् भने उचाइ सात फिटभन्दा तल छ। बगलेकमा मापदण्डअनुसारका घर नबनेको जानकारी आफूलाई पनि प्राप्त भएको प्रमुख माझीले स्वीकार गए। 

दुईकोठे भवन निर्माणको नक्सा भए पनि सानो आकारको टहराजस्तो घर निर्माण गरेर मुक्त हलियाले अनुदान लिने गरेका छन्। सरकारले जग्गा खरिदका लागि २ लाख र घर निर्माणका लागि ३ लाख २५ हजार दिएको भए पनि घर निर्माण गर्दा करिब १ लाख १२ हजार मात्र खर्च गरेको मुक्तहलिया दीपक कोलीले आरोप लगाए।

बस्तीमा निर्माण गरिएका घरको झ्याल ढोकासमेत नभएको मुक्त हलिया समाजका पूर्वअध्यक्ष डम्मर विकले बताए।

२०७४ असारमा नमुना हलिया बस्ती निर्माणका लागि अन्तिम तयारी गरेको अवस्थामा आर्थिक चलखेल भएको खबर बाहिरिएपछि जग्गा खरिदका लागि काटिएको ७८ लाखको चेक कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा जम्मा गरिएको थियो।

हनुमान हर्टिकल्चर प्रालिका नाममा रहेको उक्त जमिन २०७५ असारमा फेरि १८ जनाले व्यक्तिगत जग्गा खरिद गरेर पास भएको थियो।

मुक्तहलिया बस्दै आएको ठाउँबाट एक घण्टाको दूरीमा रहेको उक्त जमिन सुविधा नरहेको जानकारी हुँदाहुँदै पनि किन जमिन खरिद गरियो यो भने रहस्यको विषय बनेको स्थानीयवासीको आरोप छ।

पूर्वीचौकी–२ बगलेक र दिपायल सिलगढी नगरपालिका–७ मा मुक्तहलियाका ३० परिवारको पुनःस्थापनाका लागि जग्गा खरिद तथा घर निर्माण गरिएको छ। प्रतिपरिवार ५ लाख २५ हजारको लगानी भएको भए पनि हाल उनीहरू पुरानो घरमा बस्दै आएका बताइएको छ। (रासस)

प्रकाशित मिति: १४:३३ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्