Kathmandu Press

मुस्ताङको स्याउ बजारमा

बलेवा, असोज १६ : चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दीलगायतका जिल्लामा एउटा चलन छ, ‘कोसेलीमा मुस्ताङको स्याउ’। दसैंको बेला त मुस्ताङको स्याउको कोसेली झनै चल्छ...
मुस्ताङको स्याउ बजारमा

बलेवा, असोज १६ : चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दीलगायतका जिल्लामा एउटा चलन छ, ‘कोसेलीमा मुस्ताङको स्याउ’। दसैंको बेला त मुस्ताङको स्याउको कोसेली झनै चल्छ । 

दसैंको छेको पारेर मुस्ताङको स्याउ बजारमा आएको छ। उक्त स्याउ असोज १ गतेदेखि बिक्रीका लागि बजारमा देखिन थालेको हो।

रातो र सेतो रङको स्याउको बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा बिक्री अत्यधिक बढेको छ। धादिङका चन्द्र लामालाई यतिबेला बजारमा स्याउ पु¥याउन भ्याइनभ्याइ छ। हरेक वर्ष मुस्ताङको टुकुचेमा बगान ठेक्कामा लिएर उनी स्याउ बजार पुर्‍याउँछन्। लामाले यस वर्ष पनि बगान ठेक्कामा लिएका छन्र। 

‘५० लाखमा खरिद गरेको बगानका स्याउ दसैंअघि नै बजारमा पुर्‍याउने लक्ष्य छ,’ उनले भने। उनले टुकुचेमा स्थानीयवासीको बगान ठेक्कामा लिएका हुन्। ‘‘दसैँपछि बजारमा माग घट्छ, कोसेलीकै कारण दसैंका बेला बजारमा स्याउ राम्रोसँग बिक्री हुन्छ,’ लामाले भने, ‘‘दिनमा दुई ट्रकसम्म स्याउ बजार पुर्‍याउने गरेको छु।’ 

बजारमा मुस्ताङको स्याउको माग अत्यधिक छ। लामाजस्तै अन्य व्यवसायीलाई अहिले मुस्ताङको स्याउ काठमाडौं, पोखरा, बागलुङलगायतका सहरमा पठाउन भ्याइनभ्याइ छ। बगैंचामा सङ्कलन गरेर बजारमा पठाउँदा मुस्ताङमै मूल्य प्रतिकिलो ८० देखि १२५ रूपैयाँसम्म पर्छ।

दसैँ तिहारको समयमा स्याउ पाक्ने भएकाले यसको खपत बढी हुन्छ। ‘यहाँ मुस्ताङको स्याउ पाइन्छ,’ अधिकांश फलफुलका पसलमा यही  लेखेर टाँस्ने गरेको स्याउ व्यवसायी पल डिसी बताउँछन्। व्यापारीले मुस्ताङको स्याउ प्रतिकिलो २ सयदेखि २ सय ५० रूपैयाँसम्ममा बिक्री गर्छन्।  

२०२२ सालमा कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरेको तथ्याङ्क छ। सरकारले सुरुआतमा किसानलाई स्याउका बेर्ना बाँडेको थियो।

वर्षभरि खान चाना बनाएर सुकाउने चलन छ। मुस्ताङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम सञ्चालनमा छ। ‘एप्पल जोन’ कार्यक्रमका प्रमुख सुधीरा थापाका अनुसार मुस्ताङमा एक हजार ४०० हेक्टर जमिनमा स्याउ लगाइएको छ।

पाँच सय हेक्टर जमिनमा मात्र अहिले उत्पादन दिने बिरुवा तयार छन्। (रासस) 

प्रकाशित मिति: १२:४९ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्