Kathmandu Press

एमाले विधान महाधिवेशन : तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल जारी

काठमाडौं, असोज १६ : नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आज पनि जारी छ।ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक...
एमाले विधान महाधिवेशन : तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल जारी

काठमाडौं, असोज १६ : नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आज पनि जारी छ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र सांगठनिक ‍प्रतिवेदनमा अहिले समूहगत छलफल भइरहेको छ।

विभिन्न १० समूहमा समूहगत छलफल भइरहेको छ। समूहगत छलफलका लागि सनराइज सम्मेलन केन्द्रमा छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको छ।

आज  तीनै वटा प्रतिवेदनमाथि समूहगत छलफल भएपछि समूह नेताले प्रस्तुति गर्ने छन्।  शुक्रबार राजनीतिक प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओली, सांगठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए।

तीनवटै प्रतिवेदनमाथि समूहगत छलफलका लागि प्रदेश नं १ को समूहको सहजीकरण सुवास नेम्वाङ र भीम आचार्यले गरिरहेका छन्।

प्रदेश २ को समूहको सहजीकरण सत्यनारायण मण्डल र रघुवीर महासेठ, बागमती प्रदेश समूहको सहजीकरण अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा, गण्डकी प्रदेश समूहको सहजीकरण पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले तथा लुम्बिनी प्रदेश समूहको सहजीकरण विष्णु पौडेल र शङ्कर पोखरेलले गरिरहेका छन्।

यस्तै कर्णाली प्रदेश समूहको सहजीकरण युवराज ज्ञवाली र यामलाल कँडेल, सुदूरपश्चिम प्रदेश समूहको सहजीकरण भीम रावल र लेखराज भट्टले गरिरहेका छन्। उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्रबाट आएकाको समूहको सहजीकरण छविलाल विश्वकर्मा र राजन भट्टराई, जनसङ्गठनको समूहको सहजीकरण गोकर्ण विष्ट र टोपबहादुर रायमाझी, केन्द्रीय निकाय तथा केन्द्रीय विभाग समूहको सहजीकरण अमृत बोहरा र पुष्प कँडेलले गरिरहेका छन्।

अपराह्न २ बजेसम्म समूहगत छलफल सकिएपछि समूह नेताले आजै प्रतिवेदनमाथि सुझाव पेश गर्ने कार्यक्रम छ। ती सुझावका आधारमा आइतबार राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओली, साङ्गठनिक प्रतिवेदनमा महासचिव पोखरेल र विधान संशोधन प्रस्तावमा उपमहासचिव पौडेलले जवाफ दिने छन्।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महाधिवेशनलाई व्यवस्थितरुपमा सञ्चालन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको छ। यस्तै महाधिवेशनको प्रस्ताव मस्यौदा कमिटी, सुझाव अध्ययन कमिटी, बहस नोट कमिटी र प्रचार समन्वय कमिटी समेत गठन गरिएको छ। महाधिवेशनमा छ हजार ३४७ प्रतिनिधि सहभागी छन्।महाधिवेशन आइतबारसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: ११:३४ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्