साफ च्याम्पियनसिप : माल्दिभ्समाथि नेपालको जित
शुक्रबार राति मालेस्थित अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा मनिष डाँगीको निर्णायक गोल मद्दतमा नेपालले आयोजक माल्दिभ्सलाई १–०ले हरायो।
काठमाडाैं, असाेज १५ : १३औं संस्करणको साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ । शुक्रबार राति मालेस्थित अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा मनिष डाँगीको निर्णायक गोल मद्दतमा नेपालले आयोजक माल्दिभ्सलाई १–०ले हरायो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको अन्ततिर मनिषले गोल गर्दै नेपाललाई जित दिलाएका थिए । उनले खेलको ८६औं मिनेटमा माल्दिभ्सविरुद्ध अग्रता लिएको छ। सब्टिच्यूट खेलाडी मनिष डाँगीले ८६औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन्। उनले विशाल राईको पासमा गोल गरेका थिए।
खेलमा बल पोजेसन माल्दिभ्सले राम्रो बनाए पनि आक्रमण भने नेपालले बढी गरेको थियो । नेपालले १२ सट प्रहार गर्दा ६ सट फ्रेममा थियो भने माल्दिभ्सले १४ सट प्रहार गरेकोमा ४ सट मात्र फ्रेममा थियो।
यस जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ। यसअघि उद्घाटन खेलमा श्रीलंकालाई १–०ले नै हराएको बंगलादेशको पनि ३ अंक नै छ।
अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।











