जापानी राजकुमारीले यही महिना सर्वसाधारण युवकसँग बिहे गर्दै
टोकियो, असोज १५ : जापानकी राजकुमारी माकोले यही अक्टोबरमा विवाह गर्ने भएकी छन्।जापानकै एक सर्वसाधारण युवकसँग प्रेम सम्बन्धमा रहेकी माकोले हालै बिहेको मिति घोषणा...
टोकियो, असोज १५ : जापानकी राजकुमारी माकोले यही अक्टोबरमा विवाह गर्ने भएकी छन्।
जापानकै एक सर्वसाधारण युवकसँग प्रेम सम्बन्धमा रहेकी माकोले हालै बिहेको मिति घोषणा गरेकी हुन्। उनले आफ्ना प्रेमीसँग बिहे गर्ने घोषणा भने यसअघि नै गरेकी थिइन्। मिति भने तय भएको थिएन।
झण्डै एक वर्ष अगाडि राजकुमारीले सर्वसाधारण युवकसँग बिहे गर्ने घोषणा गरेपछि त्यतिबेला केही विवाद र चर्चा समेत भएको थियो। उनले बिहे गर्दा पारिवारिक तथा परम्परागत प्रक्रिया भने नअपनाउने जनाइएको छ। राजपरिवारका अन्य सदस्यको भन्दा उनको बिहे धेरै फरक हुने भएको छ।
‘राजकुमारी माकोले यही अक्टोबर २६ मा बिहे गर्नुहुने भएको छ,’ आधिकारिक शाही स्रोतले भन्यो। स्रोतले माकोको वैवाहिक समारोह, भोजभतेर र अन्य सांस्कृति कथा परम्परागत कुनै गतिविधि नगरिने तय भएको पनि दाबी गरेको छ।
जापानका सम्राट नारुहितोकी भतिजी माको सन् २०१७ देखि नै एक सर्वसाधारण युवक केइ कोमुरोसँग प्रेम सम्बन्धमा थिइन्। सर्वसाधारण युवकसँग बिहे गर्न २९ वर्षीया राजकुमारी माकोलाई राजपरिवारले अनुमति दिए पनि कतिपयले भने आलोचना गरेका छन्।
सर्वसाधारणसँग बिहे गरेपछि उनले शाही उपाधि र सम्मान गुमाउने भएकी छन्। राजकुमारी माकोको यो निर्णयबाट राजपरिवारका अधिकांश सदस्य दुःखी भएको जनाइएको छ। उहाँहरु बिहेपछि अमेरिका बस्ने बताइएको छ।












