आठबुँदे फरक मत राख्दै प्रभु साह एमाले विधान महाधिवेशनमा सहभागी नहुने
तत्कालीन नेकपा विभाजन हुँदा एमाले रोजेका पूर्वमाओवादी नेता प्रभु साह आठबुँदे फरक मत राख्दै विधान महाधिवेशनमा सहभागी नहुने भएका छन्।
काठमाडौं, असोज १५ : तत्कालीन नेकपा विभाजन हुँदा एमाले रोजेका पूर्वमाओवादी नेता प्रभु साह आठबुँदे फरक मत राख्दै विधान महाधिवेशनमा सहभागी नहुने भएका छन् ।
उनको फरक मतमा सर्वोच्च अदालतले पार्टी एकता भंग गरी एमाले र माओवादी केन्द्र ब्युँताए पनि एमालेलाई नेकपाकै निरन्तरतामा बुझ्ने र एकताकै स्पिरिटमा कार्य सञ्चालन गर्ने उल्लेख छ ।
यस्तै, नेकपाले अभ्यास गरेको जनताको जनवादलाई आगामी महाधिवेशनमा व्यापक छलफलमार्फत विकास गर्ने उनको दोस्रो फरक मत छ ।
‘वर्तमान संविधानलाई हाम्रो सात वर्षको अनुभवका आधारमा देखिएका त्रुटिहरू हटाउन, जनतालाई असली लोकतन्त्रको प्रत्याभूति दिलाउन, राष्ट्रियता, स्थायित्व र समृद्धिको चाहना पूरा गर्न समय सापेक्ष परिमार्जन गर्दै समाजवादको दिशामा अगाडि बढ्ने,’ फरक मतको तेस्रो बुँदामा भनिएको छ ।
एमालेको वैधानिक कमिटी र पदाधिकारीलाई कायम गर्दा माओवादी केन्द्रको वैधानिक कमिटी र पदीय हैसियतअनुसार मिलान गर्ने अर्थात् माओवादीका पूर्वपदाधिकारीलाई पदाधिकारीमा, केन्द्रीय कार्यालय सदस्यलाई स्थायी कमिटीमा, सचिवालय सदस्यलाई पोलिटब्युरोमा, पोलिटब्युरो सदस्यहरूलाई केन्द्रीय कमिटीमा, केन्द्रीय सदस्यहरूलाई प्रदेश कमिटी र प्रदेश कमिटीलाई जिल्ला कमिटीमा समायोजन गर्ने तथा पार्टीको पदीय वरीयताक्रम कायम गर्दा नेकपामा अभ्यास गरेको मर्यादाक्रम र दुईवटै पार्टीको वैधानिक हैसियतअनुसारको मर्यादाक्रमसमेतलाई ख्याल गरी नयाँ वरीयताक्रम निर्धारण गर्नुपर्ने साहले उल्लेख गरेका छन् ।
‘पार्टी संगठन, जनवर्गीय संगठन तथा अन्य निकायहरू निर्माण गर्दा वा खाली भएका पदमा पदपूर्ति गर्दा एकताको मर्मअनुरूप माओवादी पक्षका कमरेडहरूलाई सम्मानजनक सहभागी गराउने,’ उनले भनेका छन्, ‘पार्टीको आगामी महाधिवेशन एकताकै अधिवेशनको रूपमा लिई पार्टी कमिटीहरूको निर्वाचन सहमतिको आधारमा गर्ने ।’
प्रदेश नम्बर २ मा कमिटी निर्माण, पदाधिकारी चयन तथा कार्य विभाजनमा भएको विगतको सहमतिलाई कार्यान्वयन गर्नुपर्ने उनको मत छ । आईटी आर्मीलाई पार्टीकै जनसंगठनको रूपमा स्थापित गर्नुपर्ने माग पनि उनको छ ।











