Kathmandu Press

संस्थापक नेताहरू बिनाको एमाले विधान महाधिवेशन

शुक्रबारदेखि एमालेको विधान महाधिवेशन सुरु हुँदैछ, जसमा पार्टीका संस्थापक नेताहरू नै उपस्थित हुने छैनन्।
संस्थापक नेताहरू बिनाको एमाले विधान महाधिवेशन

काठमाडौं, असोज १५ : शुक्रबारदेखि एमालेको विधान महाधिवेशन सुरु हुँदैछ, जसमा पार्टीका संस्थापक नेताहरू नै उपस्थित हुने छैनन् ।

लामो समय एमालेलाई नेतृत्व दिएका माधवकुमार नेपाल र झलनाथ खनालले एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् । संस्थापक नेता मुकुन्द न्यौपाने पनि सोही पार्टीको तेस्रो वरियतामा छन् । वामदेव गौतम पनि एमालेका सबै जिम्मेवारीबाट राजीनामा दिएर अहिले स्वतन्त्र हैसियतमा बसेका छन् ।

आगामी पाँच वर्षका लागि पार्टीको सांगठनिक संरचना र राजनीतिक कार्यदिशा तय गर्ने विधान महाधिवेशन एमालेको इतिहासमा पहिलोपटक आयोजना हुन लागेको छ । एकअर्को महाधिवेशनबीचमा एकपटक विधान महाधिवेशन सम्पन्न गर्ने एमालेको विधानमा उल्लेख छ ।

पहिलो विधान महाधिवेशनमा करिब ६ हजार नेता–कार्यकर्ता सहभागी हुँदैछन् । केन्द्रीय सदस्यहरू, संघ र प्रदेशका सांसदहरू, प्रदेश कमिटीका सदस्यहरू, विभागबाट चुनिएका प्रतिनिधि, जिल्ला कमिटीका प्रतिनिधि, जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख, भातृ संगठनका प्रतिनिधि र प्रवास कमिटीका प्रतिनिधि विधान महाधिवेशनमा सहभागी हुनेछन् ।

तीनदिने महाधिवेशनमा एमाले अध्यक्ष केपी ओलीले राजनीतिक, महासचिव ईश्वर पोखरेलले संगठनात्मक र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् । ती प्रतिवेदनमाथि समूहगत छलफलपछि फ्लोरले पारित गर्नेछ । ललितपुर गोदावरीस्थित सम्मेलन केन्द्रमा बिहानैदेखि एमाले नेता–कार्यकर्ताको चहलपहल सुरु भइसकेको छ ।

प्रकाशित मिति: ११:१५ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्