गण्डकी प्रदेशमा थपिए ८८ जनामा कोरोना संक्रमित, २ जनाको मृत्यु
काठमाडौं, असोज १४ : गण्डकी प्रदेशमा थप ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा गरिएको नमूना परिक्षणमा प्रदेशमा ८८ जनामा संक्रमण देखिएको हो ।
संक्रमित मध्ये ५६ महिला ३२ पुरुष रहेका छन् । प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजकले जानकारी दिए । उनका अनुसार कास्की ४३,बागलुङ ३, स्याङ्जा २०, पर्वत ५, गोरखा २,लमजुङ ३, तनहुँ ६ र नवलपरासी पूर्वमा ६ जनामा संक्रमण देखिएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८५ हजार ६५९ पुगेको छ । गण्डकीमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका–१ का ८१ बर्षिय पुरुष र तनहुँको भानु नगरपालिका–२ का ७२ बर्षिय पुरुष रहेका छन्। योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३६२ पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८३ हजार ३० पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार २६७ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।