पैसा खर्च गरेर लड्नुपर्ने चुनावको विकल्पमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहियो : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो पैसा खर्च गरेर निर्वाचित हुने चुनावभन्दा पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक भएको बताएका छन्।
काठमाडौं, असोज १४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो पैसा खर्च गरेर निर्वाचित हुने चुनावभन्दा पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक भएको बताएका छन् ।
अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन उद्घाटनमा बोल्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीको वकालत गरेका हुन् ।
‘पूर्ण समानुपातिक निर्वाचित हुने निर्वाचन प्रणाली चाहियो,’ उनले भने, ‘दलाल नोकरशाह पुँजीपतिसँग पैसा मागेर गरिने चुनाव हमीलाई चाहिएको छैन ।’
अहिले अध्यक्षले कार्यकर्तालाई पैसा बाँड्नुपर्ने अवस्था आएको उनले बताए । नेता–कार्यकर्ताले ‘हेडक्वार्टर’लाई आर्थिक सहयोग गर्ने चलन हराएकामा उनले असन्तुष्टि पोखे । गाउँपालिकामा चुनाव लड्न २०–३० लाख, प्रदेशमा १०–१५ करोड र केन्द्रमा २५–३० करोड चाहिने अवस्था आएको प्रचण्डले बताए ।
पहिलो चुनावमा पैसाबिना नै जितेको उनले बताए । त्यतिबेला उल्टै मानिसले माओवादीलाई पैसा दिने गरेको बताए । र, अहिले चुनाव जित्न व्यापारीसँग पैसा माग्नुपर्ने अवस्था आएको उनले बताए । ‘पैसा खर्च गरेर चुनाव जित्न सकिँदैन, किनभने हामीसँग भन्दा धेरै बढी पैसा अरूसँग छ,’ उनले भने ।











