Kathmandu Press

५ पुसमा संसद विघटन प्रतिक्रान्तिको प्रस्थान विन्दु थियो : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५ पुसको संसद विघटन प्रतिक्रान्तिको प्रस्थान विन्दु भएको बताएका छन्।
५ पुसमा संसद विघटन प्रतिक्रान्तिको प्रस्थान विन्दु थियो : प्रचण्ड

काठमाडौं, असोज १४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५ पुसको संसद विघटन प्रतिक्रान्तिको प्रस्थान विन्दु भएको बताएका छन् ।

अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन उद्घाटनमा बोल्दै उनले ५ पुस र ७ जेठमा प्रतिनिधिसभा विघटन त्यतिमै सीमित नभएको दाबी गरे । संविधानमार्फत प्राप्त सबै उपलब्धी समाप्त पार्ने हिसाबबाट ती कदम उठाइएको उनले बताए ।

र, प्रतिक्रान्ति सफल हुन नदिन सडकमा उत्रिएको उनले बताए । ‘हामीले बमबार्ड द हेडक्वार्टर नै गरेको हो त्यतिबेला हामीले । हेडक्वार्टरमाथि बम खसालेकै हौँ हामीले,’ उनले भने ।

अहिले आफ्नो पार्टीका विद्यार्थी नेताहरू कम्युनिस्ट आन्दोलन र नेतृत्वका लागि तयार भइसकेको महसुस आफूलाई भएको उनले बताए । केन्द्रीय समितिमा राख्न सक्ने गरी युवा र विद्यार्थी नेताहरूको जमात तयार भइसकेको आफूले बल्ल जानकारी पाएको उनको भनाइ थियो ।

रुसमा ६ महिनाको अन्तरालमा सम्पन्न भएका पुँजीवादी जनवादी र समाजवादी क्रान्तिपछि पनि बुर्जुवाहरू नै सत्तामा आएको प्रसंग उनले उल्लेख गरे । जारशाहीको अन्त्य भएर क्रान्ति सम्पन्न भएको तर चाहेजसरी नभएका कारण समाजवादलाई स्थापित गर्न लेनिनले अप्रिल थेसिस लेखेको उनले उल्लेख गरे ।

२०६२–६३ को आन्दोलनबाट नेपाली जनताले पनि पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गरेको उनको दाबी थियो । र, अब अक्टोबर क्रान्तिको समय आएको उनको भनाइ थियो ।

तर, पार्टीको माथिल्लो तहमा पुगेका नेताहरू बिग्रँदै गएकामा उनले असन्तुष्टि व्यक्त गरे । ‘जसलाई जति धेरै मन्त्री बनाएँ, त्यो त्यति नै पतन भयो । जनताको साथ छुट्यो, दलालसँग नाता जोडियो,’ उनले भने, ‘पहिले मर्न जान नपाउँदा रुने हामी अहिले मन्त्री बन्न नपाउँदा रुने भयौँ । आफ्नो क्रान्तिकारी विरासत बिर्सियौँ ।’

प्रकाशित मिति: १७:३५ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्