Kathmandu Press

रोकायाले परित्याग गरे माओवादी केन्द्र, एमालेमा जाने घोषणा

काठमाडौं, असोज १४ : माओवादी केन्द्रका तत्कालीन पोलिटब्युरो सदस्य प्रकाश रोकायाले पार्टी परित्याग गरेका छन्।आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले आफूले...
रोकायाले परित्याग गरे माओवादी केन्द्र, एमालेमा जाने घोषणा

काठमाडौं, असोज १४ : माओवादी केन्द्रका तत्कालीन पोलिटब्युरो सदस्य प्रकाश रोकायाले पार्टी परित्याग गरेका छन्।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले आफूले आजबाट माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन्। उनले माओवादी केन्द्रले अवलम्बन गरेका नीतिले पार्टीमा रहेर काम गर्न नसकिने निष्कर्ष सुनाए । 

रोकायाले आफू फेरि एमालेमा फर्कने तयारीमा रहेको पनि स्पष्ट पारे। एमालेमा जान अहिले नेताहरुसँग अन्तिम छलफल भइरहेको रोकायले बताए।

‘कम्युनिस्ट आन्दोलन बचाउन अब एमालेसँग अन्तिम छलफलको क्रममा छु । एमालेले जस्तो किसिमको जिम्मेवारी दिए  पनि म त्यो जिम्मेवारी निर्वाह गर्न तयार छु,’ उनले भने। 

देश जनता र कम्युनिस्ट आन्दोलनको रक्षा, विकास र हितार्थ सम्पूर्ण क्रान्तिकारी, अग्रगमनका पक्षधरहरुले गम्भिर भएर सोच्ने दिन आएको उनको भनाइ थियो।

उनले कम्युनिस्ट आन्दोलन बचाउन एमालेका अध्यक्ष केपी ओलीसँग छलफल भैरहेको बताए। ‘अब म मात्र नभएर हजारौं माओवादी कार्यकर्ताहरु नै एमालेमा प्रवेश गर्नेछन्,’ उनले भने। 

एमालेमा भएका सबै नेताहरुमा पनि गल्तीकमजोरी भएको भन्दै सुधारेर जानुपर्नेमा जोड दिए। माओवादी केन्द्रले लाखौं कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्दै करोडौ जनताको इच्छा र चाहनाविपरीत अगाडि बढिरहेको पनि उनको आरोप थियो।

उनले पार्टी नेतृत्वले जे पनि गर्ने अवस्था आएपछि त्यसविरुद्ध उभिन परेको जिकिर गरे। सरकार गिराउने, पार्टी फुटाउने र सम्मानित सर्वोच्च अदालतबाट प्रधानमन्त्री चयन गर्न आदेश जारी गर्ने र गराउने जस्ता शक्ति पृथकीकरण सिद्धान्त विपरीतका साथै अलोकतान्त्रिक क्रियाकलापको विरुद्ध आफू उभिएको उनले स्पष्ट पारे। 

एनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई वर्गीय सोच र चिन्तनबाट विचलित नेताको रुपमा चित्रण गरे। प्रचण्डले तत्कालीन नेकपाको नेतृत्वको दुई तिहाई बहुमतप्राप्त कम्युनिस्ट सरकारलाई अपदस्त गर्न भूमिका खेलेको पनि आरोप लगाए।

उनले भने,  ‘जनताले नरुचाएर प्रतिपक्षमा बसेको नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न प्रचण्डले पटक–पटक कांग्रेस नेतृत्वसँग आग्रह गर्नुभएको थियो, यसमा मेरो गम्भीर असहमति थियो र छ।’

उनले आफूले २३ वर्ष एमालेमा रहेर काम गरेको स्मरण गरे। तर, २०७० सालमा एमाले परित्याग गरेको र २०७१ मा तत्कालिन एकीकृत माओवादीमा प्रवेश गरेको स्मरण गर्दै रोकायाले प्रचण्ड, कृष्णबहादुर महरा, शक्ति बहादुर बस्नेत, महेन्द्र बहादुर शाहीलगायतका नेताहरुसँग छलफल र संवाद गरेर प्रचण्डकै उपस्थितिमा केन्द्रीय कमिटीको बैठक चलिरहेको अवस्थामा समाहित भएको बताए।

२०४७ सालबाट अनेरास्ववियुमा आवद्ध भएर प्रारम्भिक कमिटी, इलाका कमिटी हुँदै २०६३ सालमा अनेरास्वियुको केन्द्रीय सदस्यमा रहेर काम गरेको सुनाए। 

प्रकाशित मिति: १५:५७ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्