Kathmandu Press

सबै राष्ट्रलाई कोरोना खोप, औषधोपचारमा समान पहुँच हुनुपर्ने कुरा उठाएँ : परराष्ट्रमन्त्री

सबै राष्ट्रलाई कोरोना खोप, औषधोपचारमा समान पहुँच हुनुपर्ने कुरा उठाएँ : परराष्ट्रमन्त्री

काठमाडौं, असाेज १४ : परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघको ७६औं महासभाको बैठकमा कोभिड-१९ को प्रभावबाट विश्वलाई मुक्त गर्न सबै राष्ट्रहरुलाई खोप, औषधोपचार तथा अन्य उपकरणमा समान पहुँच हुनुपर्नेमा जोड दिएको बताएका छन्।

राष्ट्रसंघको ७६औं महासभामा भाग लिएर बिहीबार बिहान स्वदेश आइपुगेको मन्त्री खड्काले महासभा बैठकमा नेपालको प्रतिनिधित्व गर्दै आफूले सहभागिता जनाउने क्रममा त्यहाँ उठाएका विषयबारे विमानस्थलमा पत्रकारलाई जानकारी गराउने क्रममा जलवायु परिवर्तनले नेपालको हिमालय श्रृङ्खलामा ल्याएको परिवर्तनबारे विश्व सचेत हुनुपर्ने सन्देश पनि दिएको बताए।

दिगो विकासको लक्ष्य प्राप्तिका लागि नेपालजस्तो राष्ट्रलाई सहयोग प्रदान गर्नुपर्ने विषय पनि आफूले अघि सारेको उनको भनाइ थियो।

विश्वमा आतंकवादको खतरा मुक्त गर्न साझा कार्यक्रम अघि बढाउनुपर्नेमा आफूले जोड दिएको उनले बताए। शक्ति राष्ट्रहरु हातहतियारको होडबाजीबाट नगरी त्यसमा हुने खर्च कम विकसित र विकासोन्मुख राष्ट्रको हितमा लगाउनुपर्ने विषय पनि महासभाको बैठकमा आफूले उठाएको उनले जानकारी दिए।

कम विकसित र भूपरिवेष्टित राष्ट्रहरूको अधिकारका कुराहरू उनीहरूलाई आवश्यक साधन र स्रोत व्यवस्था गर्नेलगायत विषय सशक्त रूपमा उठाएकाे मन्त्री खड्काले बताए।

संयुक्त राष्ट्र संघमा शान्ति मिसन पठाउनेमा नेपाल चौथो ठुलो राष्ट्र भएकाले नेपालका सिपाहीलाई उचित सम्मान गर्नुपर्ने र उच्च पद दिनुपर्ने कुरा उठाएको, भारत, बंगलादेश, बहराइन, कुवेत, मालदिभ्सका परराष्ट्र मन्त्रीहरुसँग द्धिपक्षीय हितका विषयमा कुरा गरेको पनि जानकारी दिए।

नेपालले उठाएका मुद्दालाई संयुक्त राष्ट्रसंघमा अभिलेखन हुनेमा आफू विश्वस्त रहेको मन्त्री खड्काको भनाइ थियो।

प्रकाशित मिति: १४:४८ बजे, बिहीबार, असोज १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्