वार्ताबाट भाग्न खोजेको आरोप निराधार : एमाले
‘यो बेकारको आरोप हो उहाँहरूको,’ काठमाडौं प्रेससँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘हामी सार्थक ढंगका छलफलमा जहिले पनि सहभागी हुन्छौँ, भइरहेका पनि छौँ । प्रधानमन्त्रीले पठाउनुभएका प्रतिनिधिसँग अध्यक्ष केपी ओलीले लगातार कुरा गरिरहनुभएको छ ।’
काठमाडौं, असोज १४ : आफूहरू वार्ता र संवादबाट भाग्न खोजेको सरकारको आरोप निराधार रहेको एमालले दाबी गरेको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनको बैठकमा संघीय संसदमा जारी गतिरोध अन्त्यका लागि गरेको आग्रहअनुरसार बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका थिए । तर, प्रमुख प्रतिपक्षी दल एमाले बैठकमा उपस्थित भएन । यसअघि सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो ।
बैठकपछि कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले वार्ता र संवादबाट भाग्न खोजेको देखिएको संवाददाताहरूसँग बताएका थिए । ‘यो बेकारको आरोप हो उहाँहरूको,’ काठमाडौं प्रेससँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘हामी सार्थक ढंगका छलफलमा जहिले पनि सहभागी हुन्छौँ, भइरहेका पनि छौँ । प्रधानमन्त्रीले पठाउनुभएका प्रतिनिधिसँग अध्यक्ष केपी ओलीले लगातार कुरा गरिरहनुभएको छ ।’
‘तर, षडयन्त्रपूर्ण ढंगले अध्यादेश ल्याएर पार्टी विभाजन गरियो र यसको वैधताका बारेमा हामीले अदालतमा प्रश्न उठाएका छौँ,’ ज्ञवालीले भने, ‘त्यो वैधताका बारेमा पहिले टुंगो लाग्नुप¥यो, त्यसपछि मात्र उहाँहरू (नेकपा– एकीकृत समाजवादी) सहितको सहभागितामा बैठक बस्ने किन नबस्ने भन्ने त्यसपछि तय हुन्छ ।’
तथापि, वार्तामै सहभागी नहुने भन्ने कुरा एमालेजस्तो लोकतान्त्रिक पार्टीका लागि मनासिव भएन कि भन्ने प्रश्न पनि छ नि भन्ने जिज्ञासामा ज्ञवालीले प्रष्ट्याए, ‘हामी के कारणले वार्तामा सहभागी हुँदैनौँ भनेर उहाँहरूलाई जानकारी गराएका थियौँ । यसबीचमा सरकारले चालेका कतिपय कदमका बारेमा हामीले गम्भीर संवैधानिक र कानूनी प्रश्न उठाएका छौँ । त्यसको पहिले टुंगो लाग्नुप¥यो, त्यसपछि मात्र छलफल गर्न सकिन्छ ।’











