दसैँका शुभसाइतबारे सबै जिल्ला प्रशासनलाई गृहको परिपत्र
काठमाडौं, असोज १४ : गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई दसैँका साइतहरूबारे जानकारी गराएको छ।गृहले असोज १२ गतेको निर्णयअनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई...
काठमाडौं, असोज १४ : गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई दसैंका साइतहरूबारे जानकारी गराएको छ।
गृहले असोज १२ गतेको निर्णयअनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई एक परिपत्रमार्फत दसैंका साइतहरूबारे मातहतका कार्यालयहरूलाई पनि जानकारी दिन निर्देशनसमेत दिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाबाट असोज ८ गते प्राप्त पत्रअनुसार २०७८ सालका दसैंका शुभ साइतहरुबारे जानकारी दिइएको गृहले बताएको छ।
यही असोज २१ गते घटस्थापना परेको र त्यसको शुभ साइत बिहान ११ः४६ बजे रहेको बताइएको छ। सोही दिन नवरात्र आरम्भ हुने जानकारी पनि गृहले दिएको छ।
गृहका अनुसार असोज २२ गते झन्डा फेर्ने (पश्चिम मोहडा) शुभसाइत ११ः५६ बजे परेको छ। असोज २५ गते पचली भैरव यात्राको साइत रहेको छ भने असोज २६ गते फुलपाती र तुलजा भवानीको यात्राको शुभसाइत बिहान ७ः११ बरेको परेको छ। सोही दिन स्थिरासनको साइत भने बिहान ८ः४४ बजे रहेको गृहको परिपत्रमा उल्लेख छ।
असोज २८ मा महाअष्टमी र नवरात्रि परेको छ भने असोज २९ गते महानवमी परेको छ। विजया दशमीका दिन दृवी विसर्जनको साइत बिहान ८ः१९ बजे परेको छ भने टीका लाउने साइत बिहान १०ः०२ बजे रहेको जानकारी गृहले दिएको छ।
विजया दशमीकै दिन तुलजा भवानीको यात्राका लागि बिहान ७ः०१ बजे र स्थिरासनका लागि बिहान ८ः३२ बजे शुभसाइत पर्दा खड्गयात्रा पनि सोही परेको जानकारी दिइएको छ।
कात्तिक २ गते अखिलबलिपूर्ति र सोही दिन नै कोजागत व्रत पनि परेको परिपत्रमा उल्लेख छ।











