परराष्ट्रमन्त्री डा. खड्का आज स्वदेश फर्किए
काठमाडौं, असोज १४ : परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औं महासभामा भाग लिएर आज (बिहीबार) स्वदेश फर्किएका छन्।नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही...
काठमाडौं, असोज १४ : परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औं महासभामा भाग लिएर आज (बिहीबार) स्वदेश फर्किएका छन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ६ गते न्युयोर्क पुगेका मन्त्री खड्काले सभालाई सम्बोधन गर्नुका साथै भारत, बंगलादेश, कुवेत र बहराइनका विदेशमन्त्रीहरू क्रमशः एस जयशङ्कर, अब्दुल मोमेन, सेख अहमद नासिल अल मोहमद अलसवाह र अब्दुल लतीफ बिनसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनले ‘आशाको माध्यमबाट प्रतिरोधका साथ कोभिड-१९ बाट पुनःस्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनः जागृत गराउने’ विषयमा महासभालाई सम्बोधन गरेका थिए।
साथै परराष्ट्रमन्त्रीले ७६औं महासभाका अध्यक्ष अब्दुल्ला साहिद, राष्ट्रसङ्घीय शान्ति सैन्य परिचालन विभागका उपमहासचिव जिन पियरे लाक्वा, अर्का उपमहासचिव अतुल खरे राशिद अल ज्यानीसँग बेग्लाबेग्लै भेटेर नेपाल र राष्ट्रसङ्घबीचको सहयोगात्मक सम्बन्धबारे विचारविमर्श गरेका थिए।
अमेरिकामा रहेका नेपालीले आयोजना गरेको छलफलमा पनि उनी सहभागी भएका थिए।
मन्त्री डा. खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निमित्त परराष्ट्र सचिव प्रकाशकुमार सुवेदीलगायत उक्त मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए।











